काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी भइरहेको हो ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै जोखिमपूर्ण रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप निर्णय लिइने बताइएको छ। कोरोना महामारीको अहिलेको अवस्था हेर्दा निषेधाज्ञालाई निरन्तरता दिनुको अरु कुनै विकल्प नरहेको बताइएको छ।
अब थप गरिने निषेधाज्ञा पहिलेको भन्दा पनि कडा गर्ने तयारीका साथ निषेधाज्ञालाई लम्ब्याउने निर्णय लिने बुझिएको छ। तरकारी बजारमा बिहानको समयमा निकै भिडभाड हुने भएकोले त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पनि छलफल हुनेछ। हाल तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका छन्।
तर अब भने त्यसमा पनि थप कडाई गरिनेछ। एक साताका लागि तरकारी पसल बन्द गर्ने वा भिडभाड व्यवस्थापन गर्ने बारे छलफल हुने बताइएको छ। उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ।

