काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचार समेत गरिएको बताए । नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै मन्त्री त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको समेत बताए । नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी मन्त्री त्रिपाठीले दिए ।
मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुले दिएको सुझावलाई सकारात्मक रहेको बताएका छन् । यसैसाता राष्ट्रपति कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको छ जसमा स्वास्थ्य संकटकाल लगाउन सकिने देखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएका छन् । काठमाडौं जिल्ला प्रशासनले अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयन गर्दै निषेधाज्ञालाई कडाइ गर्ने थप आदेश सार्वजनिक गरिसकेको छ ।
स्वास्थ्य त्रिपाठीले आगामी चारसातापछि संक्रमणको गति घट्न सक्ने बताए । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भइरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए । सरकारले कोभिड–१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।

