काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ । नेकपा एमालेबाट फुटेर अलग पार्टी गठन गर्नेबारे माधव नेपाल समूहमा छलफल चलिरहेको छ । नेपाल समूहका नेता झलनाथ खनालले आन्तरिक छलफलपछि नयाँ पार्टी घोषणा हुने बताएका छन् । एमाले एकताका लागि वार्ता टोली गठन भएर छलफल चलिरहेकै बेला माधव नेपाल र झलनाथ खनालसहित २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर शीतल निवास गएपछि पार्टी विभाजन भइसकेको थियो ।
यसबीचमा सर्वोच्च अदालतमा देउवाका पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्नुअघि पनि दुवै वार्ता टोलीका नेताहरुबीच आइतबार राति वार्ता भएको थियो । तर सोमबार बिहानै हस्ताक्षर शुरु भएपछि वार्ता टोली पनि स्वतः भंग भएको छ । यसबीचमा भएका वार्ता प्रयासहरुको प्रगति भइरहेकै बेला आफ्नै पार्टीको सरकार ढाल्न एमालेका सांसदको हस्ताक्षर प्रयोग भएपछि एकताको औचित्य सकिएको नेताहरुले बताएका छन् ।
योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी लगायतका माधव नेपाल पक्षधर नेताहरु अझै पनि एकताको प्रयास गर्ने भन्दै हस्ताक्षर नगरी बसेका थिए । अब उनीहरुको भूमिका के हुन्छ भन्ने प्रष्ट भइसकेको छैन । माधव नेपालले भने पार्टी दर्ताका लागि एक महिनाअघिनै आफू निकट कार्यकर्ताहरुलाई लगाइसकेका थिए । जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ ।
झलनाथ खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निवेदन दिएका छन् भने नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको छ । आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुने खनालले बताए । नयाँ पार्टीको अध्यक्ष माधवकमुार नेपाल नै हुनेछन् भने महासचिवमा भीम रावल वा सुरेन्द्र पाण्डेमध्ये एक हुने बताइएको छ । एमालेले खनाल नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य, जनप्रतिनिधित्व लगायत पार्टी आबद्ध सबै संघ संस्थाको जिम्मेवारी समेत मुक्त हुने गरि कारवाही गरेको छ । अब स्पष्टीकरण सोधिएका १२ जनाले पनि चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ । यो विभाजन प्रक्रियासँगै यसको असर प्रदेश सरकारहरुमा समेत पर्नेछ ।

