एजेन्सी – सन् २०२०-२१ को सिजन क्लबगत रुपमा हेर्नुपर्दा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि खासै सुखद रहेन। मेस्सी आवद्ध बार्सिलोनाले यस सिजन पनि लालिगा उपाधि जित्न सकेन। बार्सिलोना लालिगाको तेस्रो स्थानमा सिमित रह्यो। रोनाल्डोको हकमा अवस्था थप दुखद बन्न पुग्यो। रोनाल्डो आवद्ध युभेन्टसले सिरी ‘ए’ उपाधि मात्र गुमाएन, च्याम्पियन्स लिगमा स्थानमा ठाउँ बनाउन पनि ठूलो सङ्घर्ष गर्नुपर्यो।
बार्सिलोना र युभेन्टसका लागि सिजन खासै सोचेजस्तो नभएपनि मेस्सी र रोनाल्डोले उच्च प्रदर्शन गरे। मेस्सी र रोनाल्डो दुवै आ-आफ्नो लिगका उच्च गोलकर्ता बने। लालिगामा मेस्सीले ३० गोल गर्दा रोनाल्डोले सिरी ‘ए’मा २९ गोल गरे। युरोपियन गोल्डेन बुट रोबर्ट लेवान्डोव्स्कीले जितेपनि युरोपियन गोल्डेन बुट रेसको दोस्रो र तेस्रो स्थानमा मेस्सी र रोनाल्डो नै रहे।
तथ्यांकगत हिसाबमा २०२०-२१ को सिजनमा को रह्यो अगाडी ?
गोल
गोलगत हिसाबमा रोनाल्डो भन्दा मेस्सी अगाडी रहे। लालिगा र सिरी ‘ए’का लागि मेस्सी र रोनाल्डोले क्रमश ३० र २९ गोल गरे। सम्पूर्ण प्रतियोगितामा मेस्सीले ३८ गोल गर्दा रोनाल्डोले ३६ गोल गरे।
असिस्ट
२०२०-२०२१ को सिजनमा असिस्टको मामलामा पनि मेस्सीले रोनाल्डोलाई पछि पारे। घरेलु लिग सहित अन्य प्रतियोगिताहरुमा मेस्सीले ११ गोल असिस्ट गरे। जबकी रोनाल्डोले भने ५ मात्र असिस्ट गर्न सके।
ट्रफी
ट्रफीको मामलामा भने रोनाल्डोले मेस्सीलाई पछि पारे। रोनाल्डोको युभेन्टसले सिरी ‘ए’ उपाधि गुमाएपनि कोपा इटालिया र सुपर्कोपा इटालिया ट्रफी जित्यो। उता मेस्सीले कोपा डेल रेमै चित्त बुजाउनु पर्यो।
म्यान अफ द म्याच
सन् २०२०-२१ को सिजनमा मेस्सी २४ पटक म्यान अफ द म्याच घोषित भए। लालिगा मात्र नभई अन्य विभिन्न प्रतियोगितामा मेस्सी २४ पटक म्यान अफ द म्याच घोषित भएका हुन्। जबकी रोनाल्डो भने मात्र ५ पटक म्यान अफ द म्याच घोषित भए।