एजेन्सी – रियल म्याड्रिडमा अर्को कठिन सिजन बिताएका इडन हाजार्ड प्रिमियर लिग नै फर्कने चाहेको बताइएको छ । जुन उपेक्षा साथ हाजार्ड चेल्सीबाट रियल पुगेका थिए, त्यहाँ उनी सफल हुन सकेनन् ।
पटक पटकको चोट कारण उनले जिनेदिन जिदानको टोलीमा कमै मात्र अवसर पाएका थिए । रियल म्याड्रिड निकट पत्रकार इडु अगुरीले रियलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेकोमा हाजार्ड आफैले महसुस गरेको र उनी त्यहाँबाट पुनः चेल्सीनै फर्कन चाहेको बताएका छन् । पेरिस सेन्ट जर्मेनका युवा स्टार केलियन एमबाप्पले रियलमा आउने सम्भावना बढेका कारण पनि हाजार्डका लागि सहज हुने छैन ।
एमबाप्पे रियलमा आबद्ध भएका खण्डमा हाजार्डको भूमिका कम हुने सम्भावना रहन्छ । तर रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेज भने टोलीका सर्वाधिक महंगो खेलाडीलाई अन्यत्र पठाउने पक्षमा छैनन् । हजार्डको रियलसँगको सम्झौता सन् २०२४ सम्म रहेको छ ।
हाजार्ड १ सय मिलियन युरोमा चेल्सीबाट रियलमा आबद्ध भएका थिए । रियलमा आबद्ध भएयता हाजार्डले ४३ खेलमा मात्र ५ गोल गर्न सकेका छन् । सुरुवाती दुवै सिजन हाजार्ड चोटका कारण अधिकांश समय बाहिर रहेका छन् । लिलमा फ्रान्सेली लिग उपाधि जितेर चेल्सी पुगेका उनले लन्डन क्लबमा पनि उच्च प्रदर्शन गरेका थिए । रियलमा भने उनी जम्न सकेका छैनन् ।

