एजेन्सी – लुइस सुआरेजलाई क्लबबाट बिदा गर्ने बार्सिलोनाको निर्णय सहि थियो कि गलत भन्ने बहस समाप्त भएको छ। वास्तवमै बार्सिलोनाको उक्त निर्णय अहिले आएर गलत सावित भएको छ। सिजनको अन्त्य हुँदा बार्सिलोना गलत र एटलेटिको म्याड्रिड सहि सावित भए। अपमानजनक बार्सिलोनाबाट बहिर्गमनका लागि बाध्य बनाइएका सुआरेजलाई दिल खोलेर स्वागत गर्ने एटलेटिको म्याड्रिड लालिगा उपाधिले विभूषित भयो।
सुआरेज एटलेटिकोका लागि लालिगा उपाधि दिलाउने भगवानका दूत नै सावित भए। सिजनमा २१ गोल गरेका सुआरेज अन्तिम दुई खेलमा झनै प्रभावकारी र निर्णायक बने। सुआरेजले ओसासुना र रियल भालाडोलिड विरुद्ध गोल गरेकै कारण एटलेटिको च्याम्पियन बनेको हो। यसो पनि भन्न सकिन्छ कि रियल म्याड्रिडबाट लालिगा उपाधि सुआरेजले नै खोसे।
सुआरेजका कारण क्लब कति बलियो भयो र उनको उपस्थितले क्लबमा कस्ता परिवर्तन भए भन्ने कुरा एटलेटिकोका प्रशिक्षक डिएगो सिमोनीले जति अरु कसैले पनि बताउन सक्दैनन्। बार्सिलोनाले सुआरेजलाई आफ्नो योजनाबाट बाहिर राखेको कुरा थाहा पाउँदा सिमोनी आफैं पनि अचम्मित भएका थिए, सँगै उत्साहित पनि। उनले सुआरेजलाई एटलेटिकोको योजनामा मात्र राखेनन्, सफल अवतरण गराउन पनि सफल भए।
“उनी धेरै फरक छन्। गोल स्कोरर मात्र नभई एक सच्चा विजेता हुन् सुआरेज”,सिमोनी भन्छन्,”उनी बाघी नै हुन्। बार्सिलोनाले किन निकाल्यो भन्ने कुराको उनले इख लिएका थिए।”
सुआरेजले आफूलाई धेरै परिवर्तन मात्र गरेनन्, बार्सिलोना विरुद्धको इखले पनि उनलाई थप प्रभावकारी बनायो। सिमोनीले सुआरेजलाई शारीरिक दबाव दिने भन्दा पनि क्लिनिकल जिम्मेवारी दिए। गोल निकाल्न उनलाई खटाइयो। वास्तावमा सिमोनीको उक्त ‘ट्याक्टिस’ले काम पनि गर्यो। सिमोनीले सुआरेजको बलियो पक्षलाई बुझेर गोल गर्ने माहोल बनाए। उनले सुआरेजको भूमिकालाई यसरी प्रभावकारी बनाएकि सुआरेजले सहजरुपमा गोल गर्न सके।
सबै भन्दा महत्वपूर्ण कुरा के रह्यो भने सिमोनीले सुआरेजसँग उच्च शारीरिक क्षमताको माग गरेनन्, गोलको माग गरे र सोहि अनुसारको ट्याक्टिस बनाए। सुआरेजको पेस कम भएको पक्कै हो तर उनले सुआरेजको शारीरिक क्षमतामा आएको गिरावटलाई कमजोरी बन्न दिएनन्।

