निफ्राले पाउने भयो अनुमति !

काठमाडौँ, सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीले पनि अनुमति मागेकोमा दिइएको छैन ।

तर सहसचिव भेटवालले दुवैलाई एकै प्रक्रियाबाट अनुमति दिइने बताउनुभयो । उहाँले भन्नुभयो “जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ, त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ । ” सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताउनुभयो ।

ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् ।  सो कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेन्जको १५ प्रतिशत सेयर छ ।

कम्पनीले तमोर बेसिनको पाँच सय मेगावाट बिजुली निर्यातका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ । बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइनको निर्माण वा अन्य कुनै संयन्त्रको प्रयोगलाई कम्पनीले जोड दिएको छ ।

विद्युत् विकास विभागले क्षेत्रीय विद्युत व्यापारका लागि तत्काल कानुनी प्रबन्ध नभएको भन्दै कम्पनीलाई अनुमति दिएको थिएन । सहसचिव भेटवालले भने प्रक्रिया अनुसार अब सबै कम्पनीले अनुमति पाउने बताउनु भएको छ ।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८०८:२१

कोरोना संकटमा समेत किन उर्लियो सेयर बजार ?