काठमाडौं । अभिनेता राजेश हमालले कोरोना संक्रमणले जनतालाई सन्त्रस्त भइरहेका बेला नेपाली राजनीति गञ्जागोल हुनु ठूलो बिडम्बना भएको बताए छन् । जनता कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको बेला राजनीतिले लिएको गलत बाटोले आहात दिएको उनको भनाई छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
दैनिक ८ हजारभन्दा बढी संक्रमितको संख्या र १५० जनाभन्दा बढीले दैनिक ज्यान गुमाइरहेका समाचार आइरहेका छन् । संकटका बेला भने सरकार राजनीतिक दल आफ्नो दाउपेचमा लाग्दा समस्या झनै गिजोलिँदै गइरहेको छ । प्रकोपको यो महासंकटमा सनकका भरमा सरकारले संसद् विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेको छ । यसले कोरोना संक्रमणलाई बढाउने विज्ञहरुले बताइरहेका छन् ।
अभिनेता हमालले विषम अवस्थामा नेपाली राजनीति गञ्जागोल हुनु ठूलो दुखद् भएको बताएका छन् । उनले महामारीको यो संकटमा सरकार तथा राजनीतिज्ञको आजको प्राथमिकता के हो ? भन्ने कुरामा गम्भीरता नदेखाउनु दुःखद भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।अभिनेता हमालले केही दिनअघि मात्रै बेलायतको संसदमा नेपालको कोरोना महामारी र सहयोगका बारे छलफल भएको बताउँदै विश्वले नेपालको कोरोना महामारीलाई लिएर गम्भीरता देखाइरहेको अवस्थामा सरकार तथा राजनीतिक दलले भने गम्भीर रुपमा नलिएको दुखेसो पोखेका छन् । उनले फेसबुक लाइभमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा यदि हामीले लापरवाही देखायौं, यदि हामी यसमा त्यति गम्भीर छैनौं । हाम्रो ध्यान जहाँ हुनुपर्ने हो, त्यहाँ नभएर राजनीतिक किचलोमा छ, राजनीतिक मुद्दाहरु सुल्झाउनमा छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण भयो भने विश्वले पनि जुन गम्भीरतापूर्वक हाम्रो परिस्थितिलाई लिएर विभिन्न किसिमको पहलकदमी गरिरहेको छ, त्यसमा ह्रास पनि आउन सक्छ ।’
उनले जबकि विश्वले यस्तो किसिमको गम्भीरता देखाइरहेको अवस्थामा यदि हामीले लापरवाही देखायौं, यदि हामी यसमा त्यति गम्भीर छैनौं भन्ने देखिएको विचार व्यक्त गरेका छन् । हमालले भनेका छन्, ‘हाम्रो ध्यान जहाँ हुनुपर्ने हो, त्यहाँ नभएर राजनीतिक किचलोमा छ, राजनीतिक मुद्दाहरु सुल्झाउनमा छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण गर्यौ भने फेरि विश्वले पनि जुन गम्भीरतापूर्वक हाम्रो परिस्थितिलाई लिएर विभिन्न किसिमको पहलकदमहरु गरिरहेको छ, त्यसमा ह्रास पनि आउन सक्छ ।’
विषम परिस्थितिबाट गुज्रिएको नेपाल र नेपालीलाई कसरी पार लगाउन सकिन्छ भन्नेमा नै अहिलेको प्रमुख प्राथमिकता रहेकाले सरकारलाई त्यसमै सम्पूर्ण ऊर्जा र बुद्धि–विवेक खर्चिन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो कूटनीतिक सम्बन्धलाई सशक्त रुपले अगाडि बढाउन सक्यौं भने विश्वको ध्यान हामीमाथि अझ सशक्त रुपले जानेछ ।’ उनले संकटबाट छिट्टै पार पाउनका लागि खोपलाई ध्यान दिन सरकारसँग अनुरोध पनि गरेका छन् । उनले भने, ‘मास्क लगाउनुहोस्, हात धुनुहोस् । सामाजिक दूरी कायम गर्नुहोस् भनेर कतिञ्जेल यो परिस्थितिलाई अगाडि बढाउने ? कमसेकम एकतिहाई जनसंख्यालाई सरकारले खोप लगाउन सक्यो भने सायद अहिलेको विषम परिस्थितिबाट पार लाग्नेछौं ।’
उनले चीन, अमेरिका, बेलायत, जर्मनी, भारत लगायतका देशसँग कोरोना महामारीमा नेपाल गम्भीर भएर लागिरहेको सन्देश सम्प्रेषण गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भने, ‘त्यो ग¥यौ भने मलाई लाग्दैन कि एक करोड जनसमुदायलाई खोप लगाउन ठूलो चुनौती रहनेछ ।’
यसका लागि उनले ती राष्ट्रमा कूटनीतिज्ञ च्यानललाई सशक्तसाथ अगाडि बढाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘नेपालको अहिलेको परिस्थितिमा नेपाली, नेपाल सरकार लगायत सबै राजनीतिज्ञ कति गम्भीर हुनुहुन्छ र सबैको ध्यान यसमै, यही मुद्दामा केन्द्रित छ कि नेपाली जनसमुदायलाई अहिलेको परिस्थितिबाट कसरी उकास्न सकिन्छ भन्नेमा छ भन्ने भयो भने विश्वको ध्यान अझ थप हामीमाथि जानेछ । अझ गम्भीरपूर्वक विश्वले हाम्रो परिस्थितिलाई लिनेछ । किनकि अहिलेको परिस्थितिबाट हामी उम्किने भनेकै सक्दो धेरै नेपालीलाई खोप लगाउनु हो, भ्याक्सिनेटेड गर्नु हो ।’ अभिनेता हमालले नेपाल सरकार र नेपाली राजनीतिज्ञले आफ्नो कार्यदक्षता गम्भीरताका साथ देखाउनेमा विश्वस्त रहेको बताउँदै त्यसपछि मात्रै हामीप्रति विश्वको ध्यान जाने अपेक्षा राखेको उल्लेख गरेका छन् ।