उच्च न्यून चापीय क्षेत्र नेपालतर्फ सोझियो, के होला नेपालको मौसममा असर ?

काठमाडौँ, बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोेले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले चक्रवातको प्रतिकूल असरप्रति सतर्क रहनसमेत आग्रह गर्नुभयो ।

“चक्रवात विकास हुने क्रममा जलवाष्प बादलमा परिणत भएर उच्च न्यून चापीय क्षेत्र बनेको हो । जमिनमा चक्रवात कमजोर हुँदै जाँदा यस्तो न्यून चापीय क्षेत्र अति गहनबाट मध्यम र सामान्य अवस्थामा परिवर्तन भई विलिन हुन्छ । अहिले उच्च न्यून चापीय क्षेत्र नेपालतर्फ सोझिएकाले नेपालमा त्यसको असर बढी पर्ने भएको हो,” मौसमविद् अर्यालले थप्नुभयो, “यो न्यून चापीय क्षेत्र नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएकाले पूर्वी र मध्य क्षेत्रका साथै तराईका भूभागमा भारी वर्षा हुने सम्भावना छ ।”

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८०७:४४

निषेधाज्ञामा थप कडाइ: आज देखि यस्ता पसल मात्रै खुल्ने !