कोरोना कहर : गुहार माग्दै बारपाक

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोना नियन्त्रणबाहिर गएको भन्दै प्रदेशदेखि संघ सरकार गुहारेको छ । स्थानीय तहले कोरोना नियन्त्रणको लागि प्रदेश र संघीय सरकार गुहारेको सम्भवतः यो नै पहिलो घटना हो । २०७२ को विनाशकारी महाभूकम्पको इपिसेन्टर रहेको बारपाक कोरोनाको पनि इपिसेन्टर बन्ने खतरा रहेको आकलन गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ७ जनाभन्दा बढिको एक हप्तामा निधन भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

१३ सय गुजमुज्ज घर रहेको बारपाक गाउँका बासिन्दा कोरोना परीक्षण गर्नै मान्दैनन् । यही न्यून चेतना तथा सामाजिक मनोरोगका कारण बारपाकमा कोरोना संक्रमण भुसको आगो झैँ फैलिएको उनको अनुमान छ । गाउँपालिकाको स्वास्थ्य शाखा कोरोना परीक्षणको लागि नमुना लिन नगएको होइन । तर, त्यहाँका स्थानीयले परीक्षण गराउनै मान्दैनन् । एक त परीक्षण गराउन नमान्ने, अर्कातर्फ संक्रमित पनि आइसोलेसन बस्न मान्दैनन् । यही कारण बारपाक सुलिकोट गाउँपालिका सहयोग गुहार्न बाध्य भएको छ ।

गाउँपालिका अध्यक्ष भट्टले एक विज्ञप्ति जारी गर्दै प्रदेश तथा संघीय सरकार र राजनीतिकर्मी, आमा समूह, युवा क्लबसँग सहयोगको अपिल गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘बारपाक क्षेत्रको पछिल्लो स्थितिको अनुमानका आधारमा गाउँपालिकाको मात्र एकल पहलका आधारमा यसको नियन्त्रण, रोकथाम एवम् व्यवस्थापनमा चुनौती देखा परेको कारण संवैधानिक रूपमा उल्लेख गरिए अनुरूप महामारी नियन्त्रणका लागि जिम्मेवारी तोकिएका संघीय सरकार एवम् प्रदेश सरकार समक्ष सहयोग एमव् समन्वयका लागि गाउँपालिका कार्यालय अनुरोध गर्दछ ।’

उनले प्रदेश तथा संघीय सांसदहरूलाई आवश्यक सहजीकरण गरिदिन समेत अनुरोध गरेका छन् । विज्ञप्तिअनुसार साविकाको बारपाक गाविसमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढ्दो छ । गाउँपालिकाले तीन पटकसम्म बारपाकमा मात्रै एन्टिजेन किट र पीसीआरमार्फत परीक्षण गर्दापनि सम्भावित संक्रमितहरूको संख्या भने कम देखिएको छ । सम्भावित संक्रमितहरूको परीक्षण नै हुन नसकेका कारण जोखिम बढ्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१३ सय घर र पाँचहजार बढी जनसंख्या रहेको बारपाक गाउँमा आखिर परीक्षण किन न्यून भएको छ त ? गाउँपालिका अध्यक्ष भट्ट भन्छन, ‘स्थिति अप्ठ्यारै छ । बाक्लो गाउँ, विकट ठाउँ, सामाजिक मनोविज्ञान पनि फरक छ । मान्छेहरू आउन नमान्ने, व्यथा लुकाउने घरभित्रै बस्ने गर्दा समस्या भएको छ ।’ उनकाअनुसार कोभिड संक्रमित ३ जना र कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका ५ जनाले यही साता ज्यान गुमाएका छन् । यता प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको टिम पठाइएको जनाएको छ ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८०८:११

प्रधानन्यायाधीशले भने – ‘जे गर्छ संवैधानिक इलाजासले गर्छ’