एजेन्सी – सम्झौता थप्ने विषयलाई लिएर लियोनेल मेस्सी पक्ष र बार्सिलोना सकारात्मक दिशा तर्फ अगाडी बढेको खबर आएको छ। अन्तराष्ट्रिय खेल संचार माध्यम ईएसपीएनले मेस्सी पक्ष र बार्सिलोना बीचको वार्तामा सन्तोषजनक प्रगति भइरहेको जनाएको हो।
ईएसपीएनका अनुसार मेस्सीका पिता तथा एजेन्ट जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा बीच मेस्सीको सम्झौता थप्ने विषयमा छलफलहरु भएका छन्। ती छलफलहरु सकारात्मक रुपमा अगाडी बढेको ईएसपीएनको दावी छ।
लापोर्टाले जर्ज मेस्सीका सामू मेस्सीलाई लिएर आफूहरुले बनाएको योजना देखि आर्थिक लाभका पक्षहरुका बारेमा स्पष्ट पारेको बताइएको छ। पछिल्लो भेटमा लापोर्टाले जर्ज मेस्सीलाई एक रिपोर्ट नै पेश गरेको ईएसपीएन दावी गर्छ।
“बैठक ‘धेरै सकारात्मक’ भएको एक स्रोतले ईएसपीएनलाई बतायो। मेस्सीको सम्झौता जून ३० मा समाप्त हुँदैछ। निर्णय गर्नु अघि उनी क्लबको खेल परियोजनाको बारेमा थाहा पाउन चाहन्छन्।”,ईएसपीएनले आफ्नो समाचारमा उल्लेख गरेको छ।
गत महिना इएसपीएनले मेस्सीसँग थप दुई वर्षे सम्झौता गर्ने योजनामा अध्यक्ष लापोर्टा रहेको एक रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टका अनुसार लापोर्टा दुई वर्षे सम्झौता थप्ने मात्र नभई थप एक वर्ष सम्झौता थप्न मिल्ने क्लज पनि राख्न चाहन्थे।
साथ-साथै मेस्सीले पनि बार्सिलोनालाई नै पहिलो विकल्पमा राखेका छन्। बार्सिलोना छाडेर जाने भन्दा पनि त्यहिं रहने पक्षमा मेस्सी रहेको बताइन्छ।

