देशभर आज लगातार तेस्रो दिन पनि कोरोना संक्रमणबाट संक्रमित हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी रहेको छ। पछिल्लो २४ घण्टामा नेपालभर कुल ६ हजार ९५१ जना कोरोना संक्रमण देखिँदा ९ हजार ८४१ जना संक्रमण मुक्त भएका छन्।
१९ हजार ३१३ जनाको पीसीआर परिक्षण र ७९७ जनाको एन्टीजिन परिक्षण गरी कुल २० हजार ११० जनाको परिक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ८५५ जना र एन्टीजिन विधिबाट ९६ जना गरी कुल ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबारको संक्रमिय्त सङ्ख्यासँगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल सङ्ख्या ५ लाख ४९ हजार १११ (पीसीआर) जना पुगेका छन्। त्यस्तै, निको हुनेको कुल सङ्ख्या भने ४ लाख २८ हजार ६७० जना रहेका छन्। हाल नेपालमा कोरोनाका सक्र्य संक्रमितको सङ्ख्या भने १ लाख १३ हजार ३९४ जना रहेका छन्।
त्यस्त्यै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ९६ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाको कारण ज्यान जानेको सङ्ख्या ७ हजार ४७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कुल २ हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी काठमाडौँ जिल्लामा १ हजार ७९६ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा थप ३१५ र भक्तपुरमा २१३ जनामा कोरोनाको संक्रमण देखा परेको छ।

