मौरिन्होले फोन गरेर रोनाल्डोलाई दिए रोमामा आउन निम्तो, जालान् त ?

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहँदा पूर्व रियल म्याड्रिड कोच जोसे मौरिन्होले ३६ वर्षीय स्ट्राइकरलाई रोमासँग अनुबन्ध हुन निम्तो दिएका छन्। इटालीका केहि रिपोर्टका अनुसार जोसेले रोनाल्डोलाई व्यक्तिगत रूपमा फोन गरेर रोमामा आउन आग्रह गरेका छन्।

ओल्ड लेडीसँग २०२२ सम्म सम्झौता भएता पनि उनले यहि ट्रान्सफर विन्डोमा क्लब छाड्ने धेरैले विश्वास गरेका छन्। ५ पटकका ब्यालुन डी ओर विजेतालाई अनुबन्ध गर्नको लागि उनको पूर्व क्लब म्यानचेस्टर युनाइटेड र पीएसजीले पनि प्रयास गर्ने बुझिएको छ। यस्तोमा एएस् रोमाले पनि रोनाल्डोलाई अनुबन्ध गर्ने दौडमा आफ्नो नाम सम्मिलित गर्न चाहेको देखिन्छ।

इटालियन पत्रिका ला स्टाम्पाका अनुसार अर्को सिजनबाट रोमाको प्रशिक्षण गर्ने मौरिन्होले रोनाल्डोलाई फोन गरेर उनको मनाशय बुझ्न चाहेका हुन्। रोनाल्डो र जोसेले २०१० देखि २०१३ सम्म रियल म्याड्रिडमा एकसाथ काम गरिसकेका छन्। तर रोनाल्डोको २७ मिलियन प्रति वर्षको पारिश्रमिक रोमाको लागि समस्या हुने प्रष्ट रूपमा देखिन्छ।

२०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस प्रस्थान गरेका रोनाल्डोले इटालियन महारथीका लागि १०१ गोल गरेका छन्। युभेसँग २ पटक सेरी-ए उपाधि जित्नुका साथै कोपा इटालिया जितेका रोनाल्डोले यस सिजन सेरी-ए गोल्डेन बुट पनि जित्न सफल भए।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१८:५६

इराक विरुद्ध खेल्ने नेपाली टोली घोषणा, यस्तो छ प्लेयिंग ११ !