इराक विरुद्ध खेल्ने नेपाली टोलीको प्लेयिंग ११ घोषणा भएको छ। २० वर्षपछि इराक विरुद्ध खेल्न लागेको नेपाल पहिलो जीतको खोजीमा रहेको छ। यसअघि यी टोली ३ पटक आमने-सामने भएका छन् जसमा तीनै पटक इराकले बाजी मारेको थियो।
नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैदानमा उतार्ने टोलीको गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ रहेका छन्। त्यस्तै, सेन्ट्रल डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी रहेको छ। फुलब्याकको भूमिकामा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् भने डिफेन्सिभ मिल्फिल्डरको रूपमा पुजन उपरकोटी रहेका छन्।
आक्रामक शैलीको खेल देखाउने आशा गरिएको नेपाली टोलीको आक्रामण पङ्क्तिको कमान अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठले सम्हाल्ने छन्। अन्जन विष्ट र सुमन लामा विंगरको भूमिकामा रहँदा नवयुग मुख्य स्ट्राइकरको रूपमा देखिने छन्। त्यस्तै, सेन्ट्रल मिडफिल्डरको रूपमा मनिष डाँगी र सन्तोष तामाङ मैदानमा उत्रिनेछन्।
नेपालको प्लेयिंग ११ यस प्रकार छ:-
किरण चेम्जोङ (कप्तान)
अनन्त तामाङ
रोहित चन्द
गौतम श्रेष्ठ
सुमन अर्याल
पुजन उपरकोटी
सुमन लामा
सन्तोष तामाङ
अन्जन विष्ट
मनिष डाँगी
नवयुग श्रेष्ठ
इराकसँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली विश्वकप तथा एसिया कप छनौटका तीन खेल खेल्नको लागि कुवेत प्रस्थान गर्नेछ। कुवेतमा जुन ३ मा नेपालले पहिलो खेल चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ४ दिनपछि जोर्डनको सामना गर्नेछ। त्यस्तै, ११ जुनमा अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ।

