इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो ।
खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।
तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल भयो। इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।
१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।
खेलको ३० औं मनिष डाँगीले उत्कृष्ट गोलको मद्दतमा नेपालले खेलमा पहिलो पटक अग्रता लिन सफल भएको थियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए ।
तर नेपालको त्यो अग्रता १० मिनेट पनि टिक्न सकेन । ३८ औं मिनेटमा इराकले बराबरी गोल फर्काउन सफल भयो । कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले ६ अर्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै बराबरी गोल फर्काए ।
त्यसको एक मिनेट नबित्दै इराकले अग्रता लियो । डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए । रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा गबधनले सहज अवसर पाएका थिए ।
दोस्रो हाफको ६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५-२ ले अघि बढ्न सफल भयो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेका थिए ।
खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेलको नतिजा इराकको पक्षमा रह्यो ।

