इराकसँग नेपालले हारेपछि प्रशिक्षक अब्दुल्लाहले माफी मागे, दोष मेरै हो भने !

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो ।

पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो ।

नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो । विशेषगरि पहिलो रोजाइको खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

खेलपछि बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेल र टोलीको प्रदर्शनबारे यसो भने :

म सबै नेपाली समर्थकसँग खराब नतिजाको लागि माफी माग्न चाहन्छु । खेलमा २-१ ले अघि भएको बेलामा यस्तो अवसर थियो जसलाई सदुपयोग गरेको भए हामी ३-१ ले अघि हुन्थ्यौ र जित्न पनि सक्थ्यौं । तर हामीले यो १०-१२ दिन प्रशिक्षण गरेर खेलेका हौं । हामीलाई अझै केहि समय चाहिन्छ । केहि धैर्य गर्नुहोस ।

यो नतिजाको सम्पूर्ण जिम्मेवारी म लिन्छु । खेलाडीहरुलाई दोष दिने कुनै ठाउँ छैन । हामीलाई अझ राम्रो प्रदर्शन गर्न केहि समय लाग्छ । हामी विश्वकप छनोटमा पक्कै राम्रो नतिजा आउनेछ ।

आज हामीले धेरै खुसी दिन त सकेनौं, तर अलि अलि आशा दिलाएका छौं । हामीले २ गोल त गर्यौं । केहि खुसी दिन सक्यौं, तर आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने छौं ।

खेलाडीले राम्रो प्रदर्शन गरेका हुन् । अब केहि धैर्य गरेर खेलाडीमाथि विश्वास गर्नुपर्छ । केहि प्रश्न छ भने म माथि उठाउनु पर्छ, खेलाडीलाई होइन । सबै राम्रो हुने आशा छ ।

आजको खेलमा निकै खराब गल्ती भयो । आजको मैदानको अवस्था र नयाँ किसिमको बलले गर्दा पनि हाम्रो गल्ती भएको हो । इराकको चार गोल त यस्तै गल्तीले गर्दा नै सम्भव भयो ।

अब आउने खेलका लागि हामीसँग केहि समय हुन्छ । विश्वकप छनोटमा थप सुधारिएको खेल हुनेछ । र त्यसपछि लामो तयारीले खेलाडीमा अझै राम्रो प्रदर्शन आउने विश्वास दिलाउन चाहन्छु ।

यस्तै अब्दुल्लाहले सामाजिक संजाल मार्फत पनि माफी मागेका छन्। उनले हारको सम्पूर्ण जिम्मेवारी आफू लिने भन्दै खेलाडीहरुको आलोचना नगर्ने नेपाली समर्थक माझ आग्रह गरेका छन्।

प्रकाशित : आइतबार, जेठ १६, २०७८०७:००

म्यानचेस्टरका दुई क्लब सिटी र युनाइटेडको उस्तै नियति, दुवै युरेपेली उपाधिबाट चिप्लिए !