बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छन्।दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन्। सात दिनअघि कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो।
एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमणमुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा. सन्तोषप्रसाद बोहराले जानकारी दिए।
‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्यौँ, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’, डा. बोहराले भने।
अस्पतालसम्म ल्याइपुर्याउँदा मानिस चिन्नसमेत छाडिसकेकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्केको पुनका छोरा खिमबहादुर पुनले बताए।
‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’, पुनले भने।
कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाई गरेका थिए। सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु. सात हजार नगदसमेत सहयोग हस्तान्तरण गरेकी थिइन्।
अस्पतालमा आएका अधिकांश अक्सिजन लगाएर उपचार गराउनुपर्ने बिरामीहरु निको भएर घर फिर्ता भएका छन्। गाउँपालिकाले दुई सवारी साधनमार्फत बिरामीलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पुर्याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

