काठमाडौँ – गायक तथा अभिनेता रोबिन तामाङले नेपाल विद्युत प्राधिकारणका पूर्व प्रबन्धक कुलमान घिसिङलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका छन्।
तामाङले सोमबार सामाजिक संजाल फेसबुकमा एक पोस्ट राख्दै नयाँ पार्टी खोलेर राजनीतिमा होमिन घिसिङलाई आग्रह गरेका हुन्। निर्वाचन नजिकिरहेको अवस्थामा कुलमानले चुनाव लड्ने विषयमा विचार गर्नुपर्ने तामाङको भनाई छ।
फेसबुकमा तामाङले लेखेका छन्,”कुलमान दाइ, चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु। मलाई विश्वास छ तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ ।”
नेपालीले सहिरहेको पीडा देखेर थकित भएको भन्दै तामाङले ग्रिन पार्टी नाम दिएर पार्टी खोल्न र वातावरणको संरक्षणलाई मूख्य एजेण्डा बनाउन सुझाव दिएका छन्। आउने पुस्ताको हितका भएपनि देशमा ठूलो परिवर्तन आवश्यक रहेको तामाङको भनाई छ। उनले घिसिङलाई पूर्ण समर्थन रहने पनि बताएका छन्।
“कृपया यी कुराहरुलाई गम्भिरतापूर्वक सोच्नुहोला। अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि भएपनि देशलाई परिवर्तन गर्नुपर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ र समर्थन छ । अन्यथा हामी यी पुराना जोकरहरुसँगै अड्किने छौँ।”,तामाङ फेसबुकमा लेख्छन्।

