एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य बहसको केन्द्र बनेको केहि समय भइसक्यो। अझै पनि यो बहस रोकिने देखिँदैन। रोनाल्डोले युभेन्टस छाड्ने चर्चा लगातार चलिरहेको छ। उनी आउने सिजन युभेन्टसकै लागि खेल्छन् अथवा अन्यत्रको बाटो तताउँछन् भन्ने कुरामा सबैको चासो छ।
रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस पुगेका थिए। च्याम्पियन्स लिग जित्ने योजना सहित युभेन्टसले उनलाई महँगो मूल्य र चर्को पारिश्रमिकमा उनलाई भित्र्याएको थियो।
तर युभेन्टसले देखेको उक्त सपना साकार हुन भने अहिले सम्म सकेको छैन। भर्खरै सकिएको च्याम्पियन्स लिगमा रोनाल्डोको प्रदर्शन खास हुन सकेन। फलस्वरूप युभेन्टस अन्तिम १६ बाटै बाहिरियो।
त्यसयता रोनाल्डो र क्लब बीचको सम्बन्धमा तिक्तता आएको बताइन्छ। रोनाल्डो आफैं पनि क्लबमा रहन इच्छुक छैनन् भन्ने बताउने गरिन्छ। रोनाल्डोले छिट्टै क्लब छाड्ने खबरहरु आउने गरेका छन्।
केहि दिन अगाडी रोनाल्डोले सिरी ‘ए’मा आफूले देखेको सपना पूरा भएको सामाजिक संजाल मार्फत स्पष्ट पारेका थिए। त्यसयता रोनाल्डोले युभेन्टस छाड्ने विषयले थप ब्यापकता पाएको छ।
पछिल्लो एक खबरका अनुसार युभेन्टसले रोनाल्डोलाई नयाँ क्लब खोज्न भनिसकेको छ। रोनाल्डोलाई मात्र नभई उनका एजेन्टलाई पनि क्लब खोज्न भनिएको इटालीको एक संचार माध्यमले जानएको छ।
रोनाल्डो पनि क्लब छाड्न चाहेका कारण आउने सिजन उनी इटालीमा नहुने उक्त मिडियाले दावी गरेको छ। उसका अनुसार दुवै पक्ष रोनाल्डोको बहिर्गमनलाई लिएर सकारात्मक छन्। तर, गार्हो के छ भने रोनाल्डो विश्वकै उच्च पारिश्रमिक लिने खेलाडी भएका कारण कमै मात्र क्लबले उनलाई धान्न सक्ने अवस्था छ।

