एजेन्सी – म्यानचेस्टर सिटीलाई प्रिमियर लिग च्याम्पियन बनाएका पेप ग्वार्डिओला यति बेला तनाबमा छन्। कारण हो, च्याम्पियन्स लिगमा चेल्सी विरुद्धको खेलमा बेहोरेको हार। सिटीलाई इतिहाँसमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएपनि क्लबलाई पहिलो च्याम्पियन्स लिगको उपाधि दिलाउन भने उनी असमर्थ रहे।
सन् २०१६ मा म्यानचेस्टर सिटी पुगेका उनले क्लबलाई लगातार प्रिमियर लिग उपाधि जिताउन सफल भए। तर, च्याम्पियन्स लिगमा भने उनी अभागी सावित भए। सिटीलाई च्याम्पियन्स लिगको फाइनल सम्म डोर्याउन उनलाई ५ वर्ष समय लाग्यो। यधपी उपाधि दिलाउन भने उनले थप सिजन मेहेनत गर्नुपर्ने भयो।
प्रिमियर लिग क्लब चेल्सीसँग १–० ले पराजित हुँदै ग्वार्डिओलाको म्यानचेष्टर सिटी उपाधि जित्ने सपना चकनाचुर भएसँगै उनी भावी रणनीति बनाउन जुटेका छन्। क्लबलाई पहिलो च्याम्पियन्स लिग जिताउनको लागि उनले आगामी सिजन क्लबमा विभिन्न परिवर्तनहरु गर्न लागेको बताइन्छ।
एक खबरका अनुसार ग्वार्डिओलाले केहि खेलाडीहरुलाई क्लबबाट बिदा गर्ने तयारी गरेका छन् भने केहि थप खेलाडी भित्र्याउने उनको योजना छ। उनले आयुरिक ल्यापोर्टे, बेन्जामिन मेन्डी र रहीम स्टर्लिंग जस्ता खेलाडीहरुलाई क्लबबाट बिदा गर्न चाहेको बताइन्छ। त्यति मात्र नभई उनले क्लबका अन्य खेलाडीहरुलाई पनि बिक्रीमा पठाउन सक्छन्।
को-को माथि छ ग्वार्डिओलाको नजर ?
पछिल्लो ८ वर्ष देखि च्याम्पियन्स लिग जित्न नसकेका ग्वार्डिओलाले युरोपका विभिन्न खेलाडी माथि नजर राखेका छन्। आउने सिजन थप मेहेनत गर्ने बताइसकेका ग्वार्डिओलाले रुमेलु लुकाकु, एर्लिङ ब्राउट हालाण्ड, ह्यारी केन जस्ता खेलाडी माथि निगरानी राखेको बताइन्छ।
हालको अवस्था हेर्दा ग्वार्डिओला नयाँ स्ट्राइकरको खोजिमा देखिन्छन्। हालाण्डलाई डर्टमण्डले आउने ट्रान्सफर विन्डोमै बेच्ने सम्भावना कमै देखिन्छ। उता ह्यारी केनले टोटनह्याम छाड्ने चर्चा चलेपनि उनी सहज रुपमा प्राप्त हुने देखिँदैन। केनलाई भित्र्याउन १०० मिलियन युरो भन्दा बढी तिर्नुपर्ने देखिन्छ। त्यस्तै लुकाकु पनि इन्टर मिलान छाड्ने पक्षमा छन्। उनलाई भित्याउन पनि महँगो मूल्य तिर्नुपर्ने हुन्छ।