एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्धित भएको विषयलाई लिएर मिश्रित प्रतिक्रिया उत्पन्न गराएको छ। फ्रि ट्रान्सफरमा बार्सिलोना पुगेका ३२ वर्षीय अगुएरोलाई लिएर बार्सिलोना समर्थकहरुले मिश्रित प्रतिक्रिया जनाएका हुन्।
अगुएरोको बार्सिलोना इन्ट्रीसँगै धेरै बार्सिलोना समर्थक उत्साहित भएको अवस्था छ। अगुएरो आएपछि मेस्सी क्लबमै रहने सम्भावना बढेको भन्दै बार्सिलोना समर्थक खुशीयाली मनाइरहेका छन्।
त्यस्तै केहिले भने अगुएरोको उमेरलाई लिएर विभिन्न प्रश्न उठाएका छन्। अगुएरोलाई क्लबका पूर्व खेलाडी लुइस सुआरेजसँग तुलना गर्दै बार्सिलोना समर्थक र फुटबलहरुले प्रश्न उठाएका हुन्।
सन् २०२०-२१ सिजनको शुरुवातमा बुढो भएको भनेर बार्सिलोनाले सुआरेजलाई क्लबबाट निकालेको थियो। त्यसताका सुआरेजको उमेर ३३ वर्ष उमेरका थिए। त्यसबेला सुआरेजलाई अपमानित ढंगले निकालेको विषयलाई अगुएरोको उमेरसँग जोडेर सामाजिक संजालमा बार्सिलोनाको आलोचना गरिरहेका छन्।
ग्वार्डिओलाले अगुएरोलाई मौका नदिएको आरोप
अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको प्रिमियर लिग च्याम्पियन टोली म्यानचेष्टर सिटीको यात्रा सन्तोषजनक भने रहने सकेन । अघिल्ला सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अगुएरोले यो सिजन धेरै अवसर पाएनन् ।
शनिबार चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि उनले धेरै समय पाएनन् । चेल्सीसँग १–० ले पराजित भएपछि सिटी उपाधि विमूख बनेको थियो । सिटीका खेलाडीका रुपमा अगुएरोको त्यो अन्तिम खेल थियो । खेल पछि अगुएरो निकै भावूक बनेका थिए । उनको आँखा आँसुले भरिएको थियो ।
त्यो दृश्यले पक्कै पनि उनको परिवारलाई दुःखी बनाएको हुनपर्छ । अगुएरोका दाजु माउरिसियो डेल कास्टिलोले सामाजिक सञ्जालमार्फत सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आलोचना गरेका छन् । “ग्वार्डिओला सिटीमा आएयता उनले मेरो भाईलाई कहिल्यै चाहेनन्”, उनले ट्विट गरेका थिए । पछि उनले त्यो ट्विट हटाएका थिए ।

