जसपा पनि सरकारमा, १० मन्त्रालयमा दावी !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।

‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन । छलफल गरेर भन्छौं भनेका छौं ।’

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवास नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्लसमेत छलफलमा सहभागी थिए ।

ओली र ठाकुरबीच यसअघि पनि सरकारमा सहभागी हुने विषयमा कुराकानी हुँदै आएको छ । छलफलमा सहभागी एक नेताका अनुसार ठाकुरले आठ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओलीले गृहबाहेक खाली ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

‘गृहबाहेक खाली मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभएको छ,’ जसपा स्रोतले भन्यो, ‘हामीले १० मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छौं । तर, अहिले ठोस निर्णय केही भएको छैन ।’

जसपाले संविधान संशोधन, झुठा मुद्दा फिर्ता, जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ, नागरिकता समस्या समाधानलगायत मुद्दा उठाउँदै आएको छ । सरकारले केही माग पूरा गरेको र केही पूरा हुने प्रक्रियामा रहेकाले जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेर गएको छ ।

एमाले नेता नेम्वाङका अनुसार जसपाले उठाउँदै आएको माग तथा सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपाले उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेकाले अहिल्यै सरकारमा सहभागी हुने विषयमा निर्णय भइनसकेको उनी बताउँछन् ।

संविधान संशोधनका लागि गठित कार्यदलले गरिरहेको कामबारे समेत छलफल भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले फैसलापश्चात् नै जसपा सरकारमा सहभागी हुने÷नहुनेबारे निर्णय गर्ने ठाकुरको रणनीति छ ।

यद्यपि, एमालेजस्तै जसपामा चर्को विवाद छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विरोधमा छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा भट्टराई र यादव छन् । ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपा फुटनजिक पुगेको छ ।

जसपाभित्र एकअर्कालाई स्पष्टीकरण सोध्ने होडबाजीसमेत चलेको छ । चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले जवाफ भने दिएका छैनन् ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८०५:४४

एसईई आन्तरिक मूल्याङ्कनबाट, कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट !