काठमाडौँ – नारायणहिटी राजदरबार काण्ड भएको आज २० वर्ष पूरा भएको छ। राजा विरेन्द्रको वंशनाश हुने गरी घटाइएको काण्डको आज २० वर्ष पूरा भएको हो। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको ज्यान जाने गरी घटना घटाइएको थियो।
नारायणहिटी दरवारमा भएको पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो।
उक्त घटनाको २० वर्ष पुगिसक्दा पनि घटना कसले घटायो र क-कसको हात थियो भन्ने बारे अहिले सम्म कुनै पनि रहस्य खुल्न सकेको छैन। छानबिन गर्नको लागि विभिन्न छानबिन समिति बनाइएपनि सत्यतथ्य बाहिर आउन भने सकेको छैन।

