चाइनिज ताइपेइ विरुद्ध खेल्दै नेपाल, कठिन भएपनि जित्ने प्रशिक्षक अब्दुल्लाहको विश्वास !

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले बिहीबार कुवेतमा हुने खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेइविरुद्ध खेल कठिन हुने अपेक्षा गरेका छन् । बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अलमुताइरीले मौसमका कारण पनि खेल दुवै टोलीलाई कठिन हुने बताएका हुन् । ‘कुवेतमा खेल्न सहज छैन । दुवै टोलीलाई खेल निकै कठिन हुनेछ,’ उनले भने । निकै गर्मी मौसम रहेकाले नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै तयारी गरेको थियो ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलमा हार बेहोरेपनि धेरै सकारात्मक पक्ष रहेको बताए । उनले ताइपेइविरुद्ध टोली जितको लक्ष्य लिएर नै उत्रने बताए ।

‘हामी समूहको चौथो स्थान पक्का गरेर एसियाली कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहन्छौं । त्यसैले पनि हामी भोली जितको लक्ष्यसहित नै उत्रनेछौं ,’ उनले थपे ।

अलमुताइरीले युवा टोलीबाट नतिजाको अपेक्षा भन्दा केहि धैर्य गर्न आग्रह गरे । ‘हामीले छनोटको तयारी गर्न धेरै खेल खेल्न पाएनौं । हामीसँग युवा तर निकै प्रतिभावान खेलाडी छन् । हामीले उनीहरुलाई धेरै दबाबमा राख्नु हुँदैन,’ उनले भने ।

विपक्षी टोलीबारे पनि प्रशिक्षक अलमुताइरी सतर्क देखिए । ‘ताइपेइको टोलीमा नयाँ खेलाडी छन् । प्रशिक्षकको पनि पहिलो खेल हो । हामीले निकै ध्यान दिनुपर्छ,’ उनले टुंग्याए ।

नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन ।

नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित : बुधबार, जेठ १९, २०७८१६:४५

आक्रामक बार्सिलोना, तीन दिनमा तीन खेलाडी भित्र्यायो ! को-को ?