विवाह गर्नै परे घरमै गर्नुपर्ने, ७ जना भन्दा बढी जम्मा हुन नपाउने !

photo : sulabh shrestha

काठमाडौँ, कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा केहि खुकुलो बनाइएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञा केहि खुकुलो बनाइएपनि भिड-भाड गर्न भने रोक लगाइएको छ। विवाह गर्दा समेत धेरै भिड गर्न प्रशासनले रोक लगाएको छ। जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधका बीचमा विवाह-व्रतबन्ध गर्न परे घरमै गर्नुपर्नेछ।

घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ ।

मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

गर्न नपाइने गतिविधि

अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।

फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८११:५०

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु