काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। ओलीले जसपाको तर्फबाट केहि नेताहरुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
जनता समाजवादी पार्टी (जसपा)काे महन्थ-राजेन्द्र पक्ष सरकारमा जाने भएसँगै ओली मन्त्रिमण्डल विस्तारमा जुटेको बताइएको छ। जसपाबाट कामचलाउ सरकारमा सहभागी हुनेहरुको नाम पनि फाइनल भएको छ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई र अनिल झा खानेपानी मन्त्र बन्ने पक्का भएको छ।
लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, एकवाल मियाँ वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उमाशंकर अगरिया युवा तथा खेलकुदमन्त्री बन्ने जसपा श्रोतले जनाएको छ।
तीन मन्त्रीको पद खोसिने
जसपा नेपाल सरकारमा सहभागी हुने भएसँगै तीन मन्त्रीको जिम्मेवारी खोसिने भएको छ। वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्रीहरुको पद खोसिने भएको हो।
यससँगै वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा.शिवमाया तुम्बाहाङ्फे ओली क्याबिनेटबाट आउट भएका छन्।

