विश्वकप छनोट: नेयमार चम्किए, ब्राजिलको जित !

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियरले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । यसअघि छनोटमा ब्राजिलले बोलिभिया, पेरु, भेनेजुएला र उरुग्वेलाई पराजित गरेको थियो । कोरोना महामारीका कारण कोलम्विया र अर्जेन्टिनाविरुद्धको खेल स्थगित भएको थियो । यि खेल पछि हुनेछ ।

अर्काे एक गोल रिचार्लीसनको नाममा रह्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको २०औं मिनेटमा नेयमारले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकमा रिचार्लीसनको वान टच प्रहार गोलरक्षक एलेसान्दर डोमिनग्वेजले मुस्किलले बचाउँदा ब्राजिल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा ब्राजिलका गाब्रिल बरबोसाको गोल गरेपनि उनी अफसाइड ठहरिए ।

६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । उनले नेयमारको पासमा क्लोज रेन्जबाट सहजै गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

८६औं मिनेटमा रोबर्टाे फिर्मिनोमाथि फल भएपछि रेफ्रीले भिएआरको सहायता लिदै ब्राजिललाई पेनाल्टी प्रदान गरेको थियो । नेयमारको शुरुवाती पेनाल्टीलाई इक्वेडरका गोलरक्षक एलेसान्दर डोमिनग्वेजले पेनाल्टी प्रहार गर्नुअघि नै अघि बढेर रोकेको भन्दै रेफ्रीले ब्राजिललाई पुन पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् ।

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ५ खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ अंक छ । पराजित इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१०:०५

कामयाव रह्यो अब्दुल्लाहको रणनीति ?