एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले पछिल्लो समय दुई खेलाडीहरुलाई प्राथमिकतामा राखेको खबर आएको छ। नेयमारलाई क्लबमै रहन राजि गराइसकेको पीएसजीले च्याम्पियन्स लिग जित्न थप दुई खेलाडीलाई प्राथमिकतामा राखेको हो।
विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार पीएसजीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका जर्जिनियो विज्नाल्डमलाई प्राथमिकतामा राखेको छ।
पीएसजीले रोनाल्डोसँग सम्पर्क गरेको र त्यसलाई रोनाल्डोले सकारात्मक रुपमा लिएको स्पेनिस मिडिया एएसले जनाएको छ। उसका अनुसार पीएसजीको दुई पक्ष बीच छलफल अगाडी बढ्न सक्ने सकारात्मक स्थितिको निर्माण भएको छ।
पछिल्लो समय रोनाल्डो युभेन्टसमा असन्तुष्ट रहेको बताइन्छ। क्लबले पनि रोनाल्डोलाई नयाँ क्लब खोज्न सुझाव दिएको खबर यस अगाडी आइसकेका छन्। रोनाल्डोका कारण मात्र नभई क्लबका कारण पनि रोनाल्डोको बहिर्गमन यसै ट्रान्सफर विन्डोमा हुने अनुमान गरिएको छ। रोनाल्डो रियल म्याड्रिड फर्किने सम्भावना टरिसकेको अवस्था छ। जसकारण उनी पूर्व क्लब म्यानचेस्टर युनाइटेड जाने अनुमान धेरैले गरिरहेका छन्।
विज्नाल्डम हाइज्याक गर्दै पीएसजी
बार्सिलोना जाने चर्चा भनेर चर्चा गरिएका जर्जिनियो विज्नाल्डलाई भित्र्याउन पीएसजीले विभिन्न प्रयासहरु गरिरहेको छ। पछिल्लो खबरका अनुसार पीएसजी विज्नाल्डमलाई बार्सिलोना भन्दा दोब्बर बढी पारिश्रमिक दिन तयार भएको छ।
पीएसजीले विज्नाल्डमलाई बार्सिलोना भन्दा दोब्बर बढी पारिश्रमिक दिने प्रस्ताव विज्नाल्डम पक्ष समक्ष राखिसकेको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। यहि महिना लिभरपुलसंगको सम्झौता सकिन लागेको हुँदा उनी फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्। फ्री ट्रान्सफरमा उपलब्ध भएका कारण पनि उनी माथि पीएसजीले आँखा लगाएको हो।
सन् २०१६ मा लिभरपुल पुगेका विज्नाल्डमको सम्झौता यहि महिना सकिँदैछ। उनले लिभरपुलसँग सम्झौता थप नगर्ने घोषणा गरिसकेका छन्। लिभरपुलले उनलाई बिदा पनि गरिसकेको छ।
लिभरपुलमा रहेर उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, सुपरकपसँगै क्लब वर्ल्डकप पनि जिते। लिभरपुलका लागि उनले कुल १ सय ७९ खेल खेले। त्यसमा उनले १६ गोल गरे।

