अन्ततः पछि हटे ओली, २०७५ जेठ २ अघिको पूर्वास्थामा फर्किने घोषणा !

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन् ।

एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आज छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन् ।

राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिकरुपमा एकताका लागि पहल गरेका थिए ।

त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताएका छन् ।

उनले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट पारेका छन् ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८२२:१८

प्रदेश २ का ४ मन्त्री बर्खास्त !