काठमाडौं, – प्रधानसेनापति पूर्णचन्द्र थापाले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट हेरिरहेको बताउनुभएको छ ।प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिन पुगेको अवसर पारेर आइतबार आयोजना गर्नुभएको अन्तक्र्रिया कार्यक्रममा प्रधानसेनापति थापाले अहिलेको आवश्यकता भनेको द्वन्द्व नभई शान्तिपूर्ण तरिकाले देशको राजनीतिक घटनाक्रमलाई निकास दिने रहेको बताउनुभयो ।
नेपाली सेना अराजनैतिक चरित्रको एउटा विशुद्ध व्यवसायिक संगठन भएको जिकिर गर्दै उहाँले संविधानले व्यवस्था गरेअनुरूप हरेक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । प्रधानसेनापति थापाले भन्नुभयो–‘नेपाली सेनाले राजनीतिमा के भएको छ भन्ने हेर्छ तर संवैधानिक बाटोभन्दा बाहिर गएर केही पनि गर्दैन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेनासहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने बताउँदै उहाँले सेना राजनीतिभन्दा बाहिर रहेकाले कुनै पनि समस्याको हल विधि र पद्दतिअनुसार खोज्नुपर्ने बताउनुभयो ।सैनिक नेतृत्वले अहिलेको घटनाक्रमलाई सुझबुझका साथ हेरेको बताउँदै प्रधान सेनापति थापाले अहिलेको समस्या राजनीतिकरूपमा नै समाधान हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले हिजो हिंसाको बाटो रोजेको विप्लव समूह अहिले शान्तिपूर्ण राजनीतिक बाटोतर्फ अगाडि बढेकोले अब पुनः द्वन्द्वमा जाने सम्भावना आफूले नदेखेको बताउनुभयो । उहाँले सरकार र विप्लव समूहबीच भएको वार्ताले सार्थक रूप लिनेमा आफू विश्वस्त भएको पनि बताउनुभयो ।
वि. सं.२०७५ साल भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त भएपछि जारी गरेको प्रधानसेनापति मार्गनिर्देशनअन्तर्गत गरेका मार्गनिर्देशनमध्ये अल्पकालीन र मध्यकालीन कार्ययोजनाहरू अधिकांश कार्यान्वयनमा आइसकेको र दीर्घकालीन कार्ययोजनाहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै प्रधान सेनापति थापाले आफूले लिएको लक्ष्य पूरा हुने दिशामा रहेको समेत बताउनुभयो ।
उहाँले मुलुकको परराष्ट्र नीतिजस्तै सैन्य कूटनीतिको समेत उत्तिकै महत्व रहेको उल्लेख गर्दै नेपाली सेनाले अघि सारेको सैन्य कूटनीतिले समेत सार्थकता पाएको दाबी गर्नुभयो । ‘नेपाली सेना बलियो भए मुलुक बलियो हुने’ अवधारणालाई आत्मसाथ गर्दै नेपाली सेनाले नेपालको रक्षार्थ अघि बढ्नुपर्ने नीतिलाई अवलम्बन गरेको उहाँको भनाइ थियो ।

