एजेन्सी – क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने चाहना राखेसँगै इटालियन क्लब युभेन्टस नयाँ खेलाडीहरुको खोजिमा जुटेको छ। रोनाल्डोको ठाउँमा कसलाई ल्याउने भन्ने विषयलाई गहनताका साथ लिएर नयाँ खेलाडीको खोजिमा युभे जुटेको इटालियन संचार माध्यमहरुले जनाएका छन्।
पछिल्लो खबरका अनुसार युभेन्टसले रोनाल्डोलाई प्रतिस्थापन गर्ने खेलाडीको रुपमा बार्सिलोनाका एन्टोइन ग्रिज्मानलाई देखेको इटालियन मिडियाहरु बताउँछन्। रोनाल्डोले क्लब छाडेको खण्डमा ग्रिज्मानलाई कलबमा ल्याउने योजना युभेन्टसको रहेको बताइन्छ।
बार्सिलोना पनि ग्रिज्मानलाई बेच्ने योजनामा
गत सिजन पहिलेको सिजनहरु भन्दा केहि राम्रो प्रदर्शन गर्न सकेपनि ग्रिज्मानलाई बार्सिलोनाले बिक्रि गर्ने योजना बनाएको छ। कोरोना भाइरस संक्रमणका कारण क्लबमा परेको आर्थिक भार र पारिश्रमिक भार कम गर्ने योजना अनुरुप बार्सिलोनाले ग्रिज्मानलाई बेच्ने योजना बनाएको हो।
ग्रिज्मान र रोनाल्डो दुवैको भविष्यको टुंगो चलिरहेको यूरोपीयन च्याम्पियनशिप पश्चात मात्र लाग्नेछ।
कहाँ होला रोनाल्डोको भविष्य ?
युभेन्टस छाड्ने योजनामा रहेका रोनाल्डको भविष्य कता होला भन्ने विषय सर्वत्र चर्चामा छ। पछिल्ला खबरहरुका अनुसार रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने सम्भावना बढी रहेको छ।
रोनाल्डोले आफ्नो पारिश्रमिक घटाउन तयार भएको खण्डमा पिएसजी रोनाल्डोलाई भित्र्याउन तयार रहेकको अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।

