एकजुट हुँदै एमाले, देउवा संशकित !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

देउवा संशकित
एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् । एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ । एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन ।

प्रकाशित : मङ्गलबार, असार ०१, २०७८०८:४३

१७ जिल्लामा थपियो निषेधाज्ञा ! कहाँ-कहाँ ?