पूर्व इंगलिस स्ट्राइकर ग्यारी लिनेकरका अनुसार फ्रेन्च सेन्सेसन किलियन एम्बाप्पे पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने खेलाडी रहेको बताएका छन्। तर रोनाल्डोको स्तरमा पुगेपनि उनी ६ पटकका ब्यालुन डी ओर लियोनल मेस्सीको स्तरमा भने कहिल्यै पुग्न नसक्ने उनले स्पष्ट पारे। मेस्सीको प्रतिभाको कारण एम्बाप्पेले मात्र नभएर सायद कुनै पनि खेलाडी उनको स्तरमा पुग्न नसक्ने बताए।

गत सिजन समेत लगातार ३ पटक फ्रेन्च लिगमा गोल्डेन बुट जित्न सफल भइसकेका २२ वर्षीय विश्व विजेतालाई हाल फुटबल जगतकै उत्कृष्ट स्ट्राइकरको रूपमा हेरिन्छ। युरो २०२० मा पनि उनलाई गोल्डेन बुट तथा गोल्डेन बलको प्रमुख दाबेदारको रूपमा हेरिएको छ। यस्तोमा रियल म्याड्रिडमा ट्रान्सफर हुने बारे चर्चा चलिरहँदा लिनेकरले उनी निकै उत्कृष्ट भइसकेका र आफ्नो करियर अझै सफल बनाउनको लागि ललिगामा खेल्नु बताएका छन्।

लिनेकरले गोलसँग कुरा गर्दै भने,”एम्बाप्पे एक सुपरस्टार हुन् जसले फुटबल जगतमा रोनाल्डोको स्थान लिन सक्छन् तर मेस्सीको सक्दैनन्: किनभने मेस्सीले गर्ने चीजहरु अरु कुनै पनि खेलाडीले गर्नै सक्दैनन्।”

एम्बाप्पेमा एक उत्कृष्ट खेलाडी बन्ने हरेक गुण रहेको बताउँदै उनले भने,”प्रश्न यो हो कि मेस्सी र रोनाल्डोले जस्तै उनले पनि टप लेभलमा १५ वर्ष भन्दा धेरै समय लगातार सर्वोत्कृष्ट प्रदर्शन गर्न सक्छन् वा सक्दैनन्। यसको लागि कडा परिश्रम र लगनको आवश्यक हुन्छ।”

