काठमाडौं । कोरोना महामारीको दोस्रो लहर केही कम भएको देखिएको छ । अस्पतालमा बेड नपाउने, बेड पाइहाले अक्सिजन नपाउने अवस्था छैन भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम घट्दो छ । दुई साताअघि ३०.८ प्रतिशत रहेको संक्रमण दर घटेर १९.०४ मा झरेको छ । संक्रमणदर घट्नु सुखद संकेत भए पनि निषेधाज्ञा जारी गरेको ४५ दिन कट्दा पनि २० प्रतिशत हाराहारी रहनु राम्रो संकेत नभएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दुई साताअघि एन्टिजेन परीक्षणको संक्रमण दर ३७.३९ प्रतिशत थियो । अहिले १६ प्रतिशतमा झरेको छ । तर अझै ठाउँ विशेषमा संक्रमण दर ५० प्रतिशत हाराहारी छ । यसले ग्रामीण क्षेत्रमा विपदको संकेत गरेको महामारी विज्ञ डा. केदार बराल बताउँछन् । ‘पहिला ठूला शहरमा जति संक्रमित भेटिन्थे, त्यो अहिले घटेको सत्य हो । तर थोरै जनसंख्या भएको ग्रामीण क्षेत्रमा पहिलाभन्दा बढी देखिन थालेको छ । ठूला शहरको संक्रमण घटेकाले देशव्यापी तथ्यांकमा संक्रमितको संख्या घटे पनि ग्रामीण क्षेत्रमा संक्रमण ह्वात्तै बढेको छ’, डा. बराल भन्छन् ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई साता लुम्बिनी प्रदेशको १२ जिल्लाको एन्टिजेन परीक्षणको संक्रमण दर ३४.२६ प्रतिशत छ । प्रदेश–२ मा पछिल्लो एक महीनामा भएको एन्टिजेन परीक्षणको संक्रमण दर २१.२७ छ । कर्णाली प्रदेशमा पछिल्लो दुई साता संक्रमण दर ८.२९ प्रतिशत देखिएको छ । तर ग्रामीण क्षेत्रमा परीक्षण किटको अभाव छ भने किट पुगेका ठाउँमा पनि परीक्षण गराउन नमान्ने भएकाले कर्णालीको वास्तविक संक्रमितको तथ्यांक नआएको कर्णालीका जनस्वास्थ्यकर्मी माधव चौलागाई बताउँछन् ।
लामो निषेधाज्ञाले पनि संक्रमण दर चित्तबुझ्दो रूपले नघटेकाले सरकारले महामारी विरुद्ध लड्न चालेको रणनीतिको समीक्षा गर्नुपर्ने विज्ञहरू बताउँछन् । महामारी विज्ञ केदार बरालका अनुसार महामारी नियन्त्रणको अबको प्रयास ग्रामीण क्षेत्र केन्द्रित हुनुपर्छ । ‘हाम्रो प्रयास कहाँकहाँ सफल भयो ? कहाँ असफल भयो ? महामारीको वास्तविक अवस्था के छ ? र अब के गर्नुपर्छ भनेर सरकारले गम्भीर समीक्षा गरेर योजना बनाउनुपर्ने हुन्छ’, डा. बराल भन्छन् ।
संक्रामक रोग विशेषज्ञ डा. कोइराला पनि ग्रामीण र शहरी दुवै क्षेत्रमा लक्षण देखिएका बाहेकका मानिसलाई पनि परीक्षण गरेर महामारीको वास्तविक अवस्था थाहा पाउनुपर्ने बताउँछन् । ज्येष्ठ नागरिकहरू परीक्षणको पहुँचमा नपुग्ने र ग्रामीण क्षेत्रमा परीक्षण गर्न हिच्किचाउने भएकाले महामारीको वास्तविक तथ्यांक नआएको भन्दै डा. भण्डारीले पनि महामारीको वास्तविक अवस्था थाहा पाउन सरकार नै परीक्षण गर्न घरघरमा पुग्नुपर्ने बताउँछन् । ‘बिरामी भएर अस्पताल पुगेका र सम्भावित संक्रमितलाई परीक्षण गरेर महामारीको वास्तविक अवस्था थाहा पाउन सकिन्न, परीक्षणको रणनीति नबदल्ने हो भने जोखिम फेरि बढ्छ’, डा. भण्डारी भन्छन् ।

