एजेन्सी – शुक्रबार बिहान ब्राजिलले कोपा अमेरिका कपमा दोस्रो जित निकाल्यो। प्रतियोगिताको पाहिलो खेलमा भेनेजुएलालाई पाखा लगाएको ब्राजिलले दोस्रो खेलमा पेरुलाई पाखा लगायो। ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे ।
भेनेजुएला विरुद्ध समेत गोल गरेका नेयमारले पेरु विरुद्ध गोल गरेसँगै ब्राजिलका लागि नेयमारको गोल संख्या ६८ पुगेको छ। यससँगै नेयमारले ब्राजिलको राष्ट्रिय टोलीका सर्वाधिक गोल गर्ने पेलेसँगको अन्तरलाई छोट्याएका छन्। ७७ अन्तर्राष्ट्रिय गोल सहित पेले ब्राजिलको शिर्ष गोलकर्ता रहेका छन्। नेयमार पेले भन्दा मात्र ९ गोलले पछाडी छन्।
नेयमारले आफ्नो रेकर्ड तोडुन् भन्ने चाहना
नेयमार आफ्नो रेकर्ड नजिक भइरहँदा पेलेले नेयमारको खुलेर प्रशंसा गरेका छन्। शुक्रबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट राख्दै पेलेले नेयमारको प्रशंसा गरेका हुन्। आफ्नो रेकर्ड नेयमारले तोडुन् भन्ने चाहना पनि पेलेले इन्स्टाग्राम मार्फत व्यक्त गरेका छन्।
हँसमुख नेयमारलाई देख्दा नमुस्कुराउन असम्भव हुने पेलेको भनाई छ। नेयमार खेलेको देख्दा आफूलाई धेरै खुशी मिल्ने कुरा पनि पेलेले इन्स्टाग्राममा उल्लेख गरेका छन्।
नेयमारलाई प्रोत्साहन दिंदै पेलेले लेखेका छन्,”आज नेयमारले मेरो गोल स्कोरिंग रेकर्ड तर्फ अर्को कदम चालेका छन्। त्यो देख्दा मलाई उस्तै खुशी लागिरहेको छ, जति बेला मैले उसलाई पहिलोपटक खेल्दै देखेको थिएँ। म उनी मेरो गोल स्कोरिंग रेकर्ड सम्म पुगुन् भन्ने चाहन्छु।”

