काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।
सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहरूलाई सोहीअनुसार वातावरण बनाउन भनिसकेका छन् ।
शनिबारको छलफलमा पुगेका उपसभापति निधिले भने देउवालाई ‘तपाईं आराम गर्नुस्, मलाई सघाउनुस्, म तपाईंकै समर्थनमा सभापति लड्छु,’ भन्दै मुख खोलेका छन् ।
त्यति मात्रै होइन सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग देउवाले बूढानीलकण्ठमा आफूनिकट नेताहरूसँग महाधिवेशन तयारीबारे छलफल गर्दै गर्दा निधिले कांग्रेसको संस्थापक नेताहरू बीपी कोइराला पुत्र डा. शशांक कोइराला र गणेशमान सिंह पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमा बोलाएर ‘लन्च मिटिङ’ नै गरे । निधि भने कांग्रेसका संस्थापक मध्येकै एक नेता महेन्द्र नारायण निधिका पुत्र हुन् ।
निधिले सोमबार आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर समसामयिक राजनीतिक अवस्था र पार्टीको महाधिवेशनबारे ‘लन्च मिटिङ’ गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
‘उहाँहरूबीच लन्चसहितको मिटिङ भयो, उपसभापतिज्यूले पूर्वमहामन्त्री र वर्तमान महामन्त्रीज्यूहरूलाई बोलाएर समग्र विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुभयो, महाधिवेशनको विषयदेखि आगामी निर्वाचनसम्मका विषयमा छलफल भएको छ,’ उपसभापति निधिका प्रेस सल्लाहकार दाहालले राजधानीसँग भने ।

