युरो २०२० का अन्तिम १६ का खेलहरु सुरु भइसकेका छन्। गयराती भएका खेलहरुमा वेल्सलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क र अस्ट्रियालाई एक्स्ट्रा-टाइममा २-१ ले पराजित गर्दै इटाली अन्तिम ८ मा प्रवेश गरिसकेका छन्। त्यस्तै, आज राति पनि अन्तिम १६ का दुई महत्वपूर्ण खेल हुँदैछन्।

नेपाली समय अनुसार बेलुका ९:४५ मा हुने खेलमा नेदरल्यान्ड्सले चेक गणतन्त्रको सामना गर्दैछ। त्यस्तै, अन्तिम १६ चरणकै सबैभन्दा रोमान्चक मानिएको पोर्चुगल र बेल्जियम विरुद्धको खेल पनि आज नै हुँदैछ। नेपाली समय अनुसार राति १२:४५ बाट सुरु हुने खेलमा जित निकाल्दै अर्को चरण प्रवेश गर्ने दाउमा दुबै टोली रहनेछन्।

प्रमुख प्रतियोगितामा पहिलो पटक एक-अर्काको आमने-सामने हुन लागेका यी दुई बीचका पछिल्ला ५ खेलमा पोर्चुगल अपराजित रहेको छ। फिफाको विश्व वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले साबिक विजेता पोर्चुगललाई अन्तिम पटक १९८९ मा ३-० ले पराजित गरेको थियो। बेल्जियम समूह चरणका सबै ३ खेल जित्दै शीर्ष स्थानमा रहँदै नक-आउट चरणमा प्रवेश गरेको थियो। पछिल्ला ३३ खेलमा कम्तिमा एक गोल गर्न सफल भएको बेल्जियमले पछिल्ला १२ खेल मध्ये ९ खेलमा कम्तीमा २ गोल गर्न सफल भएको छ।

त्यस्तै, प्रतियोगिताको ‘ग्रुप अफ डेथ’ को रूपमा हेरिएको ग्रुप एफबाट तेस्रो स्थानमा रहँदै पोर्चुगल अगाडी बढेको थियो। जर्मनी र फ्रान्स जस्ता बलिया टोली रहेको समूहमा परेको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रतियोगितामा निकै उच्च लयमा रहेका छन्। उनले समूह चरणका ३ खेलमा ५ गोल गरिसकेका छन्।

नेपालमा कसरी हेर्न सकिन्छ त खेल ?
नेपालमा बेल्जियम र पोर्चुगल विरुद्धको खेल सोनी टेन २ र टेन ३ मा हेर्न सकिनेछ। खेल नेपाली समय अनुसार आज राति १२:४५ बाट स्पेनको ला कर्टुजा स्टेडियममा सुरु हुनेछ। ६० हजार दर्शक क्षमता रहेको स्टेडियममा कोरोना महामारीको कारण ३० प्रतिशत भन्दा धेरै दर्शक भने आउन पाउने छैनन्। आजको खेलको विजेताले सेमी-फाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ।

