रामचन्द्र पौडेललाई अफरै अफर : शेखरले प्रधानमन्त्री दिने, विमलेन्द्रले राष्ट्रपति !

कठमाडौं । नेपाली काङ्ग्रेसलाई १४ औँ महाधिवेशनको सरगर्मीले अहिले निकै तताएको छ । पार्टी कार्यालय सानेपामा नेताहरु भेट हुने र छलफलमा जुट्ने क्रम बढ्दो छ । आइतबार मात्र अबेर रातिसम्म सानेपास्थित कार्यालयमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पछिल्लो समय देखिएको क्रियाशिल सदस्यता विवादबारे छलफल गर्न बसेको यो बैठकले कुनै निष्कर्ष त निकालेन तर विवाद समाधान गर्न बनाउने भनिएको मापदण्ड कस्तो बनाउने भन्ने विषयमा ठोस निष्कर्ष निकाल्न यो बैठकले कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकिदिएको छ । कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद सुल्झाउनका लागि आगामि महाधिवेशनबाट महामन्त्रीका आकांक्षी प्रदीप पौडेलले मापदण्डको खाका प्रस्तुत गरेका छन् ।

पार्टी कार्यालयमा मात्र होइन, पछिल्लो समय कांग्रेसका नेताहरुले आफूअनुकूल गुट बैठकहरुलाई पनि निरन्तरता दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका बैठकलाई भन्दा अब आफूनिकट बैठकहरुलाई प्राथमिकतामा राख्न थालेका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अब आफ्ना भेटघाट बढाउन थालेका छन् । सोमबार मात्र पौडेलले सुजाता कोइराला निवासमा कृष्ण सिटौलासँग वार्ता गरेका थिए । यो छलफलमा क्रियाशिल सदस्यताबारे उठेको विवादबारे नै बढी चर्चा भएको पौडेलका सहयोगी चिरन्जिवी अधिकारीले बताएका छन् ।

कोइराला निवासबाट फर्किएपछि आफ्नै निवास बोहोराटारमा पौडेलले शेखर कोइरालासँग लामो छलफल गरेका छन् । १३ औं महाधिवेशन पछि नै आफू यो महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीका साथ देशका विभिन्न जिल्ला पुगेको बताउँदै आएका शेखर कोइरालाले सोमबारको छलफलमा पौडेलसँग महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे नै चर्चा गरेका थिए ।

‘यसपटक मैले लामो तयारी गरेको छु,’ कोइरालाले पौडेललाई भनेको कुरालाई पौडेलनिकट एक नेताले उद्धृत गरे, ‘त्यसैले यसपटकको महाधिवेशनमा तपाईंले मलाई सहयोग गर्नुहोस्, म पार्टी सभापति बने पनि तपाईंलाई आगामि निर्वाचनपछि प्रधानमन्त्री बनाउने जिम्मेवारी मेरो हो ।’ पौडेलले कोइरालालाई सोमबार ठोस जवाफ नदिएको पनि ती नेताले बताए ।

तर, पौडेल आफैं यसपटक महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । उनले केही दिनअघि वसुन्धराको दियालो पार्टी प्यालेसमा आफूनिकट नेताहरु बोलाएका थिए । पार्टीमा कृष्ण सिटौलासँग नजिक भनेर चिनिएका गगन थापा, प्रदीप पौडेलहरु पनि यो भेलामा पुगेका थिए ।

त्यस्तै यो महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका प्रकाशमान सिंह, शेखर कोइरालाहरु पनि भेलामा पुगेका थिए । त्यो छलफलमा पौडेलले प्रष्ट भनेका थिए– म १३ औं महाधिवेशनको घाइते हुँ, एकपटक पार्टी सभापति भएर काम गर्ने इच्छा छ । पछिल्लो समय पार्टीमा देखिएको क्रियाशिल सदस्यता विवादबारे मापदण्डलाई समर्थन गरिरहेका पौडेलले बेलाबेलामा आफूनिकट नेताहरुसँग यसपटक देउवाले महाधिवेशन नगर्न यही क्रियाशिल सदस्यताको विवादलाई कतै आधार बनाउने त होइनन् भन्दै आशंका व्यक्त पनि गर्ने गरेका छन् ।

तर, उनीनिकट नेताहरुले नै महाधिवेशनको मिति नै सार्वजनिक भइसकेको र केन्द्रीय कमिटीले यसलाई अनुमोदन गरेकाले, पार्टीका नेताहरुले यसमा केन्द्रित छलफल बढाएकाले यसमा आशंका नगर्न पौडेललाई बताउँदै आएका छन् । महाधिवेशन भएकै खण्डमा पनि अहिलेसम्म पौडेलले सभापतिमा उम्मेदवारी घोषणा नगर्नुलाई चाहिँ धेरैले आश्चर्यका साथ हेरेका छन् । आखिर उनले अहिलेसम्म किन सभापतिमा उम्मेदवारी घोषणा गरेका छैनन् त ?

‘उहाँले सबैसँग परामर्श गरेर अहिलेसम्म यस विषयमा नबोल्नु भएको हो,’ उनीनिकट कांग्रेस नेता जीवन परियारले भने, ‘उहाँले यतिका वर्ष कांग्रेसका लागि जुन योगदान दिनुभएको छ, अहिले उहाँले चाल्नु भएको यो स्टेप अझ राम्रो हो । एकतालाई बलियो बनाउन र राजनीतिक सँस्कारका लागि उहाँको यो त्याग र सम्मान पनि हो ।’ परियार १४ औं महाधिवेशनमा समावेशी समूहको कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् ।

पौडेलले यसअघि वसुन्धरामा भएको छलफलमा पनि आफूले सबैसँग सल्लाह गरेर र आफ्नो समूहको एक जना मात्र सभापतिको उम्मेदवार हुने निश्चित भएपछि मात्र सभापतिमा उम्मेदवारी घोषणा गर्ने पनि बताएका थिए । तर, स्वभाविक रुपमा पौडेल यसपटक सभापतिका आकांक्षीका रुपमा अरु नेताहरुले लिएका छन् । त्यसैको कारण हुनुपर्छ, शेखर कोइरालाले मंगलबार पौडेललाई सभापतिमा आफूलाई समर्थन गर्न अनुरोध गरे ।

अर्कोतिर १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई छाडेर आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका विमलेन्द्र निधिले पनि पौडेललाई राष्ट्रपति पद अफर गरेका छन् । स्रोतका अनुसार निधिले पौडेलले आफूलाई सभापति बन्न सहयोग गरेको खण्डमा भोलि राष्ट्रपति पदका लागि कांग्रेसको एक मात्र उम्मेदवारमा पौडेललाई आफूले अगाडि सार्ने बताएका हुन् । उता, निधिको यो प्रस्ताव सुने पनि पौडेलले यसमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो समय कांग्रेस सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले पनि पौडेललाई आफूलार्ई सहयोग गर्न अनुरोध गरेका छन् । अनि उनीहरुले सभापतिमा आफूलाई सहयोग गरेको खण्डमा पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् ।‘आफ्नो पद सुरक्षित होस् भन्नका लागि र पार्टीमा लामो समय त्याग गरेको नेता भएकाले सम्मानका लागि पनि यसो गरिएको होला,’ परियारले भने, ‘यो स्वभाविक पनि हो र नेतालाई सम्मानित पदको भूमिका दिन्छु भनेर वाचा गर्नु सम्मान र आदरका साथसाथै राजनीतिक परिपक्वताका रुपमा हामीले लिनु पर्छ ।’

प्रकाशित : मङ्गलबार, असार १५, २०७८०९:३०

ओलीको टर्रो अभिव्यक्ति : नेपाललेखि न्यायालयसम्म निशानामा