एम्बाप्पेको ठूलो निर्णय !

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेका लागि सुखद रहेन। फ्रेन्च समर्थकले सबै भन्दा बढी आशा गरेका उनीबाटै निराश हुनु पर्यो। प्रतियोगिताबाट बाहिरिनु भन्दा अगाडी स्विजरल्याण्ड विरुद्धको खेलमा पेनाल्टीमा चुकेका उनले प्रतियोगिताभर एक गोल पनि गर्न सकेनन्।

युरो कपमा असफलता भोगेपछि एम्बाप्पेको ध्यान अब पेरिस सेन्ट जर्मेन(पिएसजी) तर्फ केन्द्रित भएको छ। विभिन्न रिपोर्टहरुका अनुसार एम्बाप्पेले पिएसजीको भविष्य बारे छिट्टै निर्णय गर्नेछन्। अब एम्बाप्पे बिदामा जाने र फर्किएर सो सम्बन्धमा निर्णय गर्ने बताइन्छ। बिदाबाट फर्किएपछि एम्बाप्पेले कि पिएसजी छाड्ने अथवा सम्झौता थप गर्ने भन्ने विषयमा ठोस निर्णय गर्नेछन्।

स्पेनिस मिडिया मार्काका अनुसार एम्बाप्पेले पिएसजीका अध्यक्ष नासेर अल खेलाफी र खेल निर्देशक लियोनार्डोसँग संयुक्त छलफल गर्नेछन्। उक्त छलफल पश्चात एम्बाप्पेको भविष्यको टुंगो लाग्नेछ।

अध्यक्ष खेलाफीले एम्बाप्पेलाई लिएर आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। केहि समय अगाडी उनले एम्बाप्पेलाई बिक्री नगर्ने र एम्बाप्पे फ्री ट्रान्सफरमा पनि उपलब्ध नहुने बताएका थिए। खेलाफीको यस किसिमको अभिव्यक्ति पश्चात एम्बाप्पे भित्र्याउने रियल म्याड्रिडको योजनामा पूर्णविराम लागेको चर्चा भएको थियो।

तर, रियलले एम्बाप्पेलाई भित्र्याउने योजना त्यागिसकेको भने छैन। पछिल्लो समय रियल एम्बाप्प्पेको विषयलाई धेरै नजिकबाट नियालिरहेको छ। विकसित घटनाक्रमलाई नियाल्दै निर्णय गर्ने तयारीमा रियल रहेको बताइन्छ। फ्रेन्च मिडियाहरुका अनुसार एम्बाप्पेको भविष्य पिएसजीले भित्र्याउने नयाँ खेलाडीहरुमा पनि भर पर्नेछ।

प्रकाशित : बुधबार, असार १६, २०७८२२:३१

अन्तर्वार्तामै पत्रकारलाई फुटबलरले किस गरेपछि …