पीएसजीलाई सुझाव: “क्लबसँग सम्झौता नवीकरण नगरे एम्बाप्पेलाई पूरा सिजन मैदान बाहिर नै राख्दिए हुन्छ”

पूर्व फ्रान्स अन्तराष्ट्रिय खेलाडी एरिक डी मेकोले फ्रेन्च क्लब पीएसजीलाई क्लबका स्टार म्यान किलियन एम्बाप्पेले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न नमानेको खण्डमा उनलाई पूरा सिजन बेन्चमा राख्दिन सल्लाह दिएका छन्। स्विजरल्याण्ड विरुद्धको अन्तिम १६ को खेलमा निर्णायक पेनाल्टीमा चुक्दा हाल २२ वर्षीय युवा स्टारको निकै आलोचना भइरहेको छ।

विश्व विजेता एम्बाप्पेको पीएसजीसँगको सम्झौता सन् २०२२ बाट अन्त्य हुँदैछ र उनले अहिलेसम्म क्लबसँगको सम्झौता नवीकरण गर्न मानेका छैनन्। धेरैले उनलाई आफ्नो करियर अझै उत्कृष्ट बनाउनको लागि फ्रान्स छाडेर स्पेन वा इंग्ल्याण्ड जानु पर्ने पनि बताउने गरेका छन्। तर पूर्व फ्रान्स स्टारले भने यदि उनले क्लब छाड्न दबाब दिएको खण्डमा क्लबले उनी विरुद्द केहि कदम उठाउनु पर्ने बताउँछन्।

उनले भने,”समस्या यो हो कि क्लबसँग रहेको सम्झौताको अन्तिम वर्षमा आएर उनलाई क्लब छाड्न दिनु, सबै कुरा एम्बाप्पेको हातमा रहेको छ। यस्तोमा पीएसजीले खेलाडीलाई भन्नु पर्छ कि: यदि तपाईंले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्नुहुन्न भने ठिक छ पूरा सिजन बेन्चमा बस्नुहोस्। यसो गरेर क्लबले यो बताउन सक्छ कि क्लब भन्दा खेलाडी ठूलो हुँदैन।”

२०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका एम्बाप्पेको ट्रान्सफर २०१८ मा पीएसजीले पर्मानेन्ट गरेको थियो। क्लबमा ४ सिजन बिताएका एम्बाप्पेले क्लबलाई ३ फ्रेन्च लिग १ उपाधि जिताउन सफल भएका छन् भने २०१९-२० च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। क्लबका लागि उनले १२७ खेल खेल्दै १११ गोल गरिसकेका छन्।

प्रकाशित : शुक्रबार, असार १८, २०७८१६:४०

इंग्ल्यान्डले श्रीलंकाविरुद्ध एक खेल अगावै जिते सिरिज!