एक दिनमै ११ खेलाडीसहित १९ जनाको रिपोर्ट कोरोना नेगेटिभ!

काठमाडौं । एकै पटक ११ खेलाडीसहित १९ जनामा कोरोना संक्रमणका कारण विहीबार सुरु हुने भनिएको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण प्रभावित बनेको थियो । तर शुक्रबार विहान नै सबैको नतिजा नेगेटिभ आएको छ । बुधबार गरेको परिक्षणमा कोरोना पोजेटिभ आएपछि विहीबार प्रशिक्षण स्थगित गर्दै पुनः कोरोना परिक्षण गरिएको थियो । शुक्रबार विहानसम्म सबै जनाको नतिजा नेगेटिभ आएको छ । बुधबार विध ल्याबमा गरिएको परिक्षणमा पोजेटिभ नतिजा आएपछि प्रशिक्षण एक साताको लागि स्थगित भएको थियो । विहीबार ललितपुरको स्टार अस्पतालमा परिक्षण गर्दा नतिजा नेगेटिभ आएको हो ।

११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का २ पदाधिकारी र एन्फा स्टाफ गरी १९ जनामा कोभिड संक्रमण देखिएको बताइएको थियो । अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ । विश्व कप र एसियन कप छनोट खेलेर कुवेतबाट फर्केका सबै खेलाडीले कोरोनाको पहिलो डोज खोप पनि लगाएका थिए । यो समाचार सौर्यदैनिकमा  प्रकाशित छ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका थिए । उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण गर्ने बताएका थिए । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा नै सार्वजनिक हुने बुझिएको छ ।

यसपटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् । प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । युवा डिफेन्डर रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राइ पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् । विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाडी पनि टोलीमा छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केहि समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सुचिमा छैन ।

प्रकाशित : शनिबार, असार १९, २०७८०८:४९

माधव पक्षलाई केन्दीय कमिटीको अल्टिमेटम, हस्ताक्षर फिर्ता नलिए एमालेबाट आउट !