निषेधाज्ञा अझै एक साता थप्न !

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । आइतबार बेलुका बस्ने काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने भएको छ । अहिले जारी निषेधाज्ञा सोमबार मध्यरातसम्म कायमै छ । नेपाल प्रेससँग कुरा गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीनै सीडीओहरुले एकसाता निषेधाज्ञा थप गर्ने कुरामा मतैक्य भएपनि थप क्षेत्रलाई खुलाउने बारे स्वास्थ्य मन्त्रालयको सुझावका आधारमा निर्णय गरिने बताए । आइतबार बेलुका अथवा सोमबार बिहान बस्ने तीन सीडीओको संयुक्त बैठकले थपिने निषेधाज्ञा अवधिमा कस्तो आदेश जारी गर्ने भन्नेबारे निर्णय गर्नेछन् । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘निषेधाज्ञा एकसाता थपिनेछ तर, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा निष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने, ‘अहिलेको स्थितीमा सार्वजनिक यातायात खुलाइहाल्ने योजना छैन ।’ काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुली र ललितपुर प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि सार्वजनिक यातायात खुलाउने कुरा स्वास्थ्य मन्त्रालयको सुझावमा निर्भर हुने बताए । थप क्षेत्र खुलाउनेबारे तीनैजना सीडीओहरु अलमलमा छन् ।

२५ सिटभन्दा माथिको सार्वजनिक यातायातमा जोर–विजोरसहित अहिले पसलहरुलाई निश्चित समय खुल्न दिएर निषेधाज्ञा खुकुलो तुल्याइएको छ । निषेधाज्ञा लागु भैरहेपनि संक्रमण दरमा उल्लेखनीय गिरावट आएको छैन । संक्रमण दर स्थिर हुँदा यसले निषेधाज्ञा खुकुलो तुल्याउन थप चुनौति सिर्जना गरिरहेको छ ।

यतिबेला सीसीएमसी र डीसीसीएमसीको ध्यान स्वास्थ्य मन्त्रालयतर्फ सोझिएको छ । अहिले जारी निषेधाज्ञा र प्रतिबन्धहरुलाई कसरी अगाडि बढाउने भन्नेबारे यी दुबै संयन्त्र स्वास्थ्य मन्त्रालयको सुझावको प्रतीक्षामा छन् । एकातर्फ यातायात व्यवसायी र अर्कोतर्फ स्वास्थ्य मन्त्रालयको दबाबको कारण यी दुबै संयन्त्रले निषेधाज्ञाबारे स्वतन्त्र निर्णय गर्न सकेका छैनन् जसले गर्दा निषेधाज्ञा थप्ने काम मात्र भैरहेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले संंक्रमण नघटेको कारण जोखिम कायमै रहेकाले सोहीअनुसार निर्णय हुने बताए । उनका अनुसार संक्रमण घटेका जिल्लामा सार्वजनिक यातायात खुलाउन अनुमति दिन सकिन्छ भने काठमाडौं उपत्यकामा तत्काल थप क्षेत्र खुलाउन अनुमति दिइनु जोखिमपूर्ण हुनसक्छ । ‘केस खासै घटेको छैन । जोखिम कायमै छ’ पौडेलले भने, ‘हामीले परिस्थिती अनुसारको सुझाव दिन्छौं । अहिले नै यस्तो भन्ने छैन । परिस्थिती हेरेर निर्णय लिने हो ।’ संक्रमण दर १० प्रतिशतमा घटेमा मात्र थप क्षेत्रहरु चरणबद्ध रुपमा खुलाउन अनुमति दिइने प्रवक्ता पौडेलको भनाई छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)सँग यातायात व्यवसायीहरुले २२ गतेदेखि लामो दूरीको यातायात खुलाउन माग गरेका छन् । बिहीबार सीसीएमसीका पदाधिकारीसँग भेट गर्दै उनीहरुले लामो दूरीको यातायातलाई तत्काल खुलाइनुपर्ने बताए । खुला नगरिए एकतर्फीरुपमा यातायात चलाउने पनि उनीहरुले बताएका छन् । सीसीएमसी प्रवक्ता कृष्णहरि पुष्करले संक्रमण दर हेरेर मात्र लामो दूरीको यातायात खुलाउन अनुमति दिइने बताए । ‘कुन क्षेत्रमा कति संक्रमित छन् र संक्रमण दर कति छ भन्ने स्वास्थ्य मन्त्रालयको ब्रिफिङको आधारमा अघि बढ्न हामीले डीसीसीएमसीहरुलाई सुझाव दिएका छौं’ प्रवक्ता पुष्करले भने ।

प्रकाशित : आइतबार, असार २०, २०७८०९:३४

सभापति बन्न काँग्रेसमा हानाथाप: सभापतिका नाममा लन्च ख्वाउँदै, देउवा संकटमा !