एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलको समीकरण पूरा भएको छ। क्वाटरफाइनल चरणको खेल समाप्त भएसँगै सबै खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
जारी प्रतियोगिताको सेमिफाइनलमा डेनमार्क, स्पेन, इटाली र इंग्ल्यान्ड प्रवेश गरेका छन्। फाइनल प्रवेशका लागि अब डेनमार्क र इंग्ल्यान्ड तथा इटाली र स्पेन बीच प्रतिष्पर्धा हुनेछ।
सेमिफाइनलको पहिलो खेल यहि मंगलबार राति हुनेछ। पहिलो खेलमा इटाली र स्पेन आमने सामने हुनेछन्। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल लन्डनमा हुनेछ।
त्यस्तै अर्को सेमिफाइनल बुधबार राति हुनेछ। लन्डनमा नै हुने खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्नेछन्। खेल नेपाली समय अनुसार रातको १२ बजे शुरु हुनेछ। शनिबार राति भएका खेलमा विजयी भएसँगै डेनमार्क र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका हुन्। क्वाटरफाइनलमा इंग्ल्यान्डले युक्रेनको पोस्टमा ४ गोल गर्यो। त्यस्तै डेनमार्कले चेक रिपब्लिकलाई २-१ को गोल अन्तरले पराजित गर्यो।
उपाधि दाबेदार मानिएको इटाली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उसले बेल्जियमलाई २-१ गोल अन्तरले पाखा लगाएको थियो। त्यस्तै स्पेन स्विट्जरल्यान्डलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। स्पेनले स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गरेको थियो।
फाइनल कहिले ?
सेमिफानलका दुई विजेता युरो कपको फाइनलमा भिड्नेछन्। खेल आउने आइतबार राति १२:४५ मा हुनेछ। खेल लन्डनमा हुनेछ।

