कसले जित्ला त युरो कपको गोल्डेन बुट ? शीर्ष स्थानमा रहेका रोनाल्डोको सम्भावना कति ?

युरो २०२० को सेमी-फाइनल समीकरण पूरा भएको छ। स्पेन, इटाली, इंग्ल्याण्ड र डेनमार्क यसपटकको सेमी-फाइनलमा प्रवेश गर्न सफल भएका छन्। अब फाइनल प्रवेशका लागि इटाली र स्पेन तथा डेनमार्क र इंग्ल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा अब मात्र ३ खेल बाँकी रहँदा गोल्डेन बुटको दौड पनि निकै रोमान्चक बन्दै गएको छ।

प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भइसकेका छन्। पोर्चिगलका कप्तान हाल गोल्डेन बुटको दौडमा ५ गोलका साथ शीर्ष स्थानमा रहेका छन्। समूह चरणमा नै ५ गोल गरेका रोनाल्डोले अन्तिम १६ को खेलमा गोल गर्न नसक्दा उनको टोली बेल्जियमसँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। त्यस्तै, चेक गणतन्त्रका प्याट्रिक सिकको नाममा पनि समान ५ गोल रहेको छ। सिकको टोली पनि क्वाटर-फाइनलमा डेनमार्कसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

समान गोल गरेता पनि असिस्ट तथा खेलको सङ्ख्याको आधारमा रोनाल्डो सिक भन्दा अगाडी रहेका छन्। त्यसतै, बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करीम बेन्जेमा र स्वीडेनका एमिल फोर्सबर्गको नाममा ४-४ गोल रहेको छ। तर यी सबै टोली पनि प्रतियोगिताबाट बाहिरीसकेका छन्। त्यस्तै, ३-३ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्तार्लिंग भने यस दौडमा रहेका छन्। सेमी-फाइनलमा डेनमार्कको सामना गर्ने इंग्ल्यान्डले उक्त खेल जितेको खण्डमा यी दुई खेलाडीसँग रोनाल्डोलाई पछि पार्न २ खेल रहनेछ।

त्यस्तै, डेनमार्कका कास्पर डोलबर्गको अवस्थामा ह्यारी केन र रहिम स्तार्लिंगको जस्तै छ। उनले पनि प्रतियोगितामा ३ गोल गरेका छन् भने उनको टोली सेमी-फाइनलमा रहेको छ। प्रतियोगितामा ३-३ गोल गरेका नेदरल्यान्ड्सका जिनी वाइनाल्डम, पोल्याण्डका रोबर्ट लेवान्डोस्की, स्विट्जरल्यान्डका हरिस सेफेरोभिच र जेर्डान शकिरी भने प्रतियोगिताबाट बाहिरी सकेका छन्।

प्रकाशित : आइतबार, असार २०, २०७८१२:३५

सन्दीप लंका प्रिमियर लिगको ड्राफ्टमा !