केहि रिपोर्टसका अनुसार इटालियन क्लब युभेन्टसले आफ्ना स्टार म्यान क्रिस्टियानो रोनाल्डोको मूल्य तोकेको छ। क्लब ५ पटकका ब्यालुन डी ओर विजेतालाई २५ मिलियनमा यहि समरमा बेच्न तयार रहेको बुझिएको छ। युभेले रोनाल्डोलाई रियल म्याड्रिडबाट अनुबन्ध गर्नको लागि २०१८ को समरमा १०० मिलियन तिरेको थियो।

गाजेट्टाको एक रिपोर्ट अनुसार अब इटालियन महारथी रोनाल्डोलाई बेच्न तयार रहेको छ। रोनाल्डोलाई भित्र्याउनको लागि पीएसजी, म्यानचेस्टर युनाइटेड जस्ता ठूला क्लब इच्छुक रहेका छन्। च्याम्पियन्स लिग जित्ने मुख्य लक्ष्यका साथ रोनाल्डोलाई क्लबमा लेराएको युभे ३६ वर्षीय स्ट्राइकरको आगमनपछि प्रतियोगोताको सेमी-फाइनलसम्म पनि पुग्न सकेको छैन।

यस्तोमा, युभे क्लब इतिहासकै सबैभन्दा महँगा जर्सी नम्बर ७ लाई बिदा गर्न तयार भएको हो। रोनाल्डोले क्लब छाडेको खण्डमा युभेन्टसले उनको पारिश्रमिक लगभग ७५ मिलियन कम गर्न सफल हुनेछ। र क्लबका प्रमुखले सम्भावित ट्रान्सफरको बारेमा चर्चा गर्नको लागि रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजसँग भेट गरिसकेको पनि केहि रिपोर्टसले बताएका छन्।

३६ वर्षको उमेरमा पनि रोनाल्डोले आफ्नो खेल भने कतै खस्किन दिएका छैनन्। उनले गत सिजन युभेका लागि ४४ खेलमा ३६ गोल गर्न सफल भएका थिए। त्यस्तै, जारी युरोमा पनि उनले आफ्नो टोली बेल्जियमसँग पराजित हुनु अघि ५ गोल गरेका छन्। उनी प्रतियोगिताका उच्च गोलकर्ता हुन्।

