काठमाडौँ, असार २१ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार तथा निर्देशक शिशिर शमशेर जबरा (शिशिर राणा) लाई पक्राउ गरेको छ ।
राणालाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । निर्देशक राणालाई उच्च अदालत पाटनले गत वर्ष २०७७ माघ २६ गते ४५ लाख जरिवाना को फैसला गरेको थियो । साथै उनलाई १० दिनको कैद सजाय पनि सुनाइएको थियो ।
बैंकिङ कसुरमा फरार रहेका राणालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । निर्देशक राणाले ललितपुरकै एक व्यक्तिबाट ४५ लाख ऋण लिएको र रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनलाई बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई दोषी ठहर गरेको हो ।
कलाकार तथा निर्देशक राणाले अन्दाज, वडा नम्बर छ, क्लासिक, तिमी सँग लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। साथै उनले फिल्म ‘तिमी सँग’ र ‘पोइ पर्यो काले’ निर्देशन गरेका छन्।

