एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले टुरिन छाड्ने चर्चा चल्न थालेको महिनौं भैसक्यो। रोनाल्डो युभेन्टसमा असन्तुष्ट रहेको र उनी युभेन्टस छाडेर जाने पक्षमा रहेको धेरैले बताउने गरेका छन्।
केहि समय अगाडी मात्र उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने चर्चा चलेको थियो। त्यस भन्दा अगाडी उनी पूर्व क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा थियो। रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चल्दै आएपनि उनी आफैं भने यस बारे केहि पनि बोलेका छैनन्, न त उनका एजेन्ट जर्ज मेन्डेसबाट नै कुनै उत्तर आएको छ।
रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलिरहेकै बेला उनले युभेन्टसमा सम्झौता थप्न लागेको खबर आएको छ। इटालियन मिडियाहरुका अनुसार रोनाल्डोले युभेन्टसमै सम्झौता थप गर्ने सम्भावना बढेर गएको हो। इटालियन मिडियाहरुका अनुसार रोनाल्डोले छिट्टै नै सम्झौता थप्नेछन्।
सम्झौता थप गर्ने विषयमा रोनाल्डो र क्लब बीच केहि समय देखि संवाद भैरहेको इटालीबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुले जनाएका छन्। आउने केहि हप्ता भित्रै सम्झौता थप हुन सक्ने उनीहरुको दावी छ।
स्पोर्ट मेडियासेटले रिपोर्ट गरेअनुसार रोनाल्डोका एजेन्ट जर्ज मेन्डेस छिट्टै टुरिनको भ्रमणमा निस्किनेछन्। त्यसक्रममा उनी र क्लबका अधिकारीहरु बीच फाइनल छलफल हुने बताइन्छ। उक्त छलफलले रोनाल्डोको भविष्यमा ठूलो भूमिका खेल्ने इटालियन मिडियाहरु बताउँछन्।
दुई पक्ष बीच युरेपीएन च्याम्पियनशिप फाइनल अगाडी नै छलफल हुने र एक निर्णय हुने सम्भावना रहेको छ। रोनाल्डोले सम्झौता थप गर्ने नगर्ने विषयमा युरो कपको फाइनल अगाडी नै टुंगो लाग्ने इटालियन मिडियाहरुको दावी छ।
पारिश्रमिक बन्यो बाधक
रोनाल्डो विश्वकै बढी पारिश्रमिक लिने फुटबलरमा पर्छन्। रोनाल्डोको पारिश्रमिक धान्न सक्ने क्लब बिरलै पाइने हुँदा उनको युभेन्टसबाट बहिर्गमन हुन सकिरहेको छैन। रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड जान पनि पारिश्रमिक नै बाधक बनेको बताइन्छ। पारिश्रमिकका कारण युभेन्टस छाड्ने योजना असफल भएपछि रोनाल्डो युभेन्टसमै रहने मनस्थितिमा पुगेको धेरैको अनुमान छ।

