एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्पेन सम्भवतः प्रतियोगिताकै सबै भन्दा बढी कठिन टोलीको सामना गर्दैछ। प्रतियोगिताको प्रमुख दाबेदारको रुपमा हेरिएको इटालीसंगको खेल स्पेनका लागि फलामको चिउरा बराबर हुनेछ। फाइनल प्रवेशका लागि हुने खेल मंगलबार राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल लन्डनमा हुँदैछ।
प्रतियोगिताको नकआउट चरणमा स्विजरल्याण्ड र क्रोएशियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको स्पेन ‘अन्डरडग’को रुपमा इटालीसंग भिड्नेछ। इटालीलाई पाखा लगाउन स्पेनले पछिल्ला खेलहरु भन्दा धेरै नै बलियो प्रदर्शन गर्नुपर्नेछ।
जारी प्रतियोगितामा इटाली उत्कृष्ट लयमा छ। इटालीले प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ भने स्पेन पनि प्रतियोगितामा पराजित भएको छैन। प्रतियोगितामा स्पेनले २ खेल बराबरी खेलेको छ भने बाँकी ३ खेलमा जित हाँसिल गरेको छ।
यस्तो भन्छ इतिहास
इटाली र स्पेन अहिले सम्म ३७ पटक आमने सामने भएका छन्। त्यसमा दुवैले ११-११ खेलमा जित हाँसिल गरेका छन्। बाँकी १५ खेल भने बराबरीमा रोकिएको इतिहास छ।पछिल्लो भेटको कुरा गर्नुपर्दा स्पेन र इटाली बीच फिफा विश्वकप २०१८ को छनोटमा आमने सामने भएका थिए। त्यसबेला स्पेनले इटालीलाई हराएको थियो। विश्वकप छनोटको पहिलो खेल बराबरीमा रोकिँदा दोस्रो खेलमा स्पेन ३-० ले विजयी भएको थियो।
त्यस्तै युरो कप २०१६ मा स्पेन र इटाली बीच राउण्ड अफ १६ मा भेट भएको थियो। त्यस खेलमा इटाली विजयी भएको थियो। स्पेन इटालीसंग २-० ले पराजित भएको थियो। त्यसअगाडी दुई देश बीच दुई मैत्रीपूर्ण खेलमा भेट भएको थियो। जसमा एक खेल बराबरीमा टुंगिएको थियो भने एक खेलमा स्पेन विजयी भएको थियो। पछिल्ला पाँच खेलमा स्पेनले इटाली विरुद्ध २ जित निकालेको छ। त्यस्तै इटालीले एक जित निकाल्दा २ खेल बराबरीमा टुंगिएको छ।

