कोलम्बिया विरुद्धा अर्जेन्टिना: के मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने सपना जिउँदै रहला ?

कोपा अमेरिका प्रतियोगिताको सेमी-फाइनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै साबिक विजेता ब्राजिल फाइनलमा प्रवेश गरेको छ। त्यस्तै, फाइनल प्रवेशका लागि दोस्रो सेमी-फाइनलमा अर्जेन्टिना र कोलम्बिया बीच भिडन्त हुँदैछ। नेपाली समय अनुसार भोलि बिहान ६:४५ बाट सुरु हुने खेलको विजेताले फाइनलमा ब्राजिलसँग उपाधिका लागि भिड्ने छ।

क्वाटरफाइनलमा कोलम्बियाले उरुग्वेलाई पराजित गरेको थियो भने अर्जेन्टिनाले इक्वेडर;लाई पाखा लगाउँदै कोलम्बियासँगको भेट पक्का गरेको थियो। यस खेलमा सबैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा रहनेछ। प्रतियोगितामा निकै उत्कृष्ट लयमा रहेका मेस्सीले ४ गोल गर्नुका साथै थप ४ गोलमा असिस्ट पनि प्रदान गरेका छन्।

आफ्नो उत्कृष्ट करियरमा पहिलो अन्तराष्ट्रिय उपाधिको खोजीमा रहेका मेस्सीले भोलि अर्जेन्टिनाको लागि १५० औं खेल हुनेछ। ब्राजिलको एस्टाडियो नेशनल, ब्रासिलियामा हुने खेलमा कोलम्बियालाई पराजित गर्नको लागि फेरी पनि कप्तान लियोनल मेस्सीको जादू आवश्यक पर्ने देखिन्छ।

पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका फाइनलमा 

साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि पिएसजीका फरवार्डले उक्त बललाई पोस्टको दिशा दिन सकेनन् । १३औं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गालेसेले विफल पारे ।

३५औं मिनेटमा भने गालेसे निरिह बन्दा ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमै पेरुले खेलमा फर्कने अवसर पाएको थियो । जियानलुका लापाडुलाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक एडरसनले विफल पारेका थिए । ५२औं मिनेटमा पेरुका लागि गार्सियाले गरेको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा पेरुले सुधारिएको प्रदर्शन गरेपनि अवसर सदुपयोग गर्न नसक्दा बराबरी गोल फर्काउन सकेन । ब्राजिलले भने अग्रता जोगाउनका लागि अधिकांश समय बल पकडमा राख्दै पेरुलाई खेलमा जम्न नदिने प्रयास गरेको थियो । ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : मङ्गलबार, असार २२, २०७८१३:४३

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग भिड्ने नेयमारको चाहना !