एजेन्सी – विश्व फुटबलमा अहिलेको समयमा सबै भन्दा बढी कसैको चर्चा भइरहेको छ भने ती अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी हुन्। दुई कारणले गर्दा मेस्सी अहिले चर्चाको केन्द्रमा छन्।
पहिलो कारण – बार्सिलोनासँगको सम्झौता सकिएसँगै मेस्सी क्लब विहिन भएका छन्। उनले बर्सिलोजनासँग पुनः सम्झौता गर्लान् अथवा अन्यत्र जालान् भन्नेमा सबैको चासो छ। त्यस्तै जारी कोपा अमेरिकामा मेस्सीले देखाइरहेको क्षमताले पनि मेस्सीलाई चर्चाको केन्द्रमा राखेको छ।
कोपा अमेरिकामा मेस्सीले जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्। त्यसले मेस्सीलाई पुनः ब्यालुन डी ओर पावर र्यान्किंगको शिर्ष स्थानमा उभ्याएको छ। मेस्सी ४ स्थानमा उक्लिँदै ब्यालुन डी ओर पावर र्यान्किंगको शिर्षस्थानमा उक्लिएका छन्।
जारी कोपा अमेरिकामा मेस्सीले ५ खेल खेल्दा ४ गोल गरिसकेका छन्। मेस्सी गोल गर्ने मामला मात्र नभई असिस्टमा पनि अब्बल ठहरिएका छन्। मेस्सीले अहिले सम्म ४ गोलका लागि असिस्ट दिसकेका छन्। यस हिसाबले ८ गोलमा मेस्सीको भूमिका रह्यो।
सन् २०२१ मा मेस्सी
सन् २०२१ मा मेस्सी उच्च प्रदर्शन गर्न सफल भएका छन्। बार्सिलोनाले लालिगा उपाधि जित्न नसकेपनि मेस्सी लिगको सर्वाधिक गोलकर्ताको रुपमा रहे। सन् २०२१ शुरु भएयता मात्र मेस्सीले लालिगामा २३ गोल गरे। त्यस्तै मेस्सीले बार्सिलोनालाई कोपा डेल’रेको उपाधि दिलाउनेक्रममा पनि महत्वपूर्ण भूमिका खेले। कोपा डेल रे अनतर्गतका खेलमा मेस्सीले ३ गोल गरे। मेस्सीले च्याम्पियन्स लिगमा पनि सन् २०२१ मा २ गोल गरे।
मेस्सीले अहिले सम्म बार्सिलोना र अर्जेन्टिनाका लागि ३६ खेल खेले। जसमा उनले ३३ गोल गरे भने थप १३ असिस्ट दिए। यस अर्थमा मेस्सीको ४६ गोलमा भूमिका रह्यो। सन् २०२० मा केहि कम्जोर देखिएका मेस्सी सन् २०२१ लागेयता अब्बल देखिएका छन्।
कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ। उक्त खेलमा विजयी भएको खण्डमा अर्जेन्टिना फाइनलमा प्रवेश गर्नेछ र ब्राजिलसंग उपाधिका लागि भिड्नेछ।

